नेता, कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीमा फर्कन दाहाल–नेपाल समूहको आव्हान – Janadesh Daily | ePaper

नेता, कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीमा फर्कन दाहाल–नेपाल समूहको आव्हान


जनादेश, काठमाण्डौ । नेकपा दाहाल–नेपाल समूहले सबै नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ ।.


बुधबारको बैठकले कुनै पनि कारणले अन्य समूहमा लागेका सबै नेता, कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नु भएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आव्हान गर्ने निर्णय गरेका छौं ।’

बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टी एकताको पक्षमा हामी सधैं छौं । हिजो पनि थियौं । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्‍यो भनेर बहस गर्दाखेरी ओलीजीले संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्यत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो ।

हामी त्यसको विरोध गरेका हौं र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौं,’ उनले भने, ‘तर पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुनसक्छ ।’

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । कान्तिपुरबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्