अबको राजनीतिबारे बाबुराम भट्टराईको चेतावनी र सूर्यराज आचार्यको सुझाव – Janadesh Daily | ePaper

अबको राजनीतिबारे बाबुराम भट्टराईको चेतावनी र सूर्यराज आचार्यको सुझाव


जनादेश सोसल मिडिया वाच ।

संसद पुनर्स्थापना भएपछि केपी ओलीको विकल्पमा को प्रधानमन्त्री बन्छ भन्ने जिज्ञासा चौतर्फी उठेको छ ।

नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि काठमाडौं नछाड्न निर्देशन दिइसकेको छ । तर, प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकको छैन । प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण प्रचण्ड–नेपाल पक्ष अलमलमा छ ।

यही अलमलप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले फेरि पुरानै पारा नदेखाउन आग्रह गरेका छन् । हाल दिल्लीमा उपचाररत रहेका उनले फेरि सत्ताको खेलमा सांसद खरिद विक्रीमा नलाग्न आग्रह गरेका छन् ।


ट्वीटरमा बाबुरामले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!’


उता अर्का विद्वान विश्लेषक सूर्यराज आचार्यले पनि स्थिरताका लागि निर्वाचित कार्यकारी प्रणालीमा जान सकिने विकल्प अघि सारेका छन् ।

उनले पनि ट्वीटरमै लेखेका छन्, ‘संविधान लेख्दै गर्दा संविधानका धाराले कसिकसाउ रुपमा बाधेर सरकार/संसदमा स्थिरता खोजियो। तर चल्तिको राजनीतिक अभ्यास स्थिरता उन्मुख भएन। पात्र, प्रवृत्ति, संवैधानिक व्यवस्था र प्रणाली बिच लय मिलेन। यो राजनीतिक समस्या दोहोरिइरहने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने कि?’

संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्