राजनीतिमात्र होइन कुटनीतिक नजर पनि देउवामा, दुई छिमेकी राजदूत पुगे बुढानिलकण्ठ – Janadesh Daily | ePaper

राजनीतिमात्र होइन कुटनीतिक नजर पनि देउवामा, दुई छिमेकी राजदूत पुगे बुढानिलकण्ठ


जनादेश वाच ।

संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कुरा चलिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा राजनीतिक मात्र होइन कुटनीतिक समुदायको दृष्टिमा पनि केन्द्रमा रहेको देखिएको छ ।

चीन र भारतका राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास (बूढानीलकण्ठ) मा पुगेर भेटेका हुन्।

उनीहरूले नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोतले जानकारी दिएको छ।

देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो। उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्। नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

प्रचण्ड-नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए। नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।

उत्तरी छिमेकी चीनले प्रतिनिधि सभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भए पनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।

 

यो पनि हेर्नुस्- 

बाबुराम भट्टराई फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ ? यस्तो भयो भने हुनसक्छन्

अब कसको सरकार ! हट्दै नहट्ने ओलीको रणनीति र प्रचण्ड-माधवको काउन्टर रणनीति

नयाँ सरकार गठन गर्न कहाँ कहाँबाट अवरोध, यी हुन् दुई कारण

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्