एउटा डरलाग्दो परिदृष्यको पटाक्षेपः ओली ‘किङ’ कि प्रचण्ड ‘किङ मेकर’ – Janadesh Daily | ePaper

एउटा डरलाग्दो परिदृष्यको पटाक्षेपः ओली ‘किङ’ कि प्रचण्ड ‘किङ मेकर’


जनादेश विश्लेषण ।

संसद अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सरकारले सिफारिश गरिसकेको छ । राष्ट्रपतिबाट अधिवेशन आह्वान हुन बाँकी छ। तर बहुआयामिक जटिलतामा जेलिएको परिस्थितिमा बोलाइएको संसदको अधिवेशनमा त्यहाँ रहेका राजनीतिक दलको भूमिकाबारे अनेकन अड्कलवाजी बढिरहेका छन् ।

जटिलतामा खेल्ने ओली गुटको रणनीति
ओली सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि अहिलेसम्म उनले अधिवेशन बोलाएकी छैनन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए ओलीले स्वाभाविक रूपमा नैतिकताका आधारमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएका पनि थिए । तर नैतिकरुपमा पराजित भैसकेको भएपनि ओली समूहले कानूनी र संबैधानिक जटिलताको प्रयोगमार्फत सत्ता लम्ब्याउने रणनीति अख्तियार गरेको छ ।

एक पूर्व संवैधानिक निकायका प्रमुखको अनुमानमा ओली जसरी पनि अघि बढ्ने रणनीतिमा छन्। उनले सत्ता छोडने छैनन्। बरु ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रचण्डसँगै उनका सहयात्री बनेका माधवकुमार नेपाललाई छानविनको दायरामा ल्याउने तयारी गरेका छन्। सभामुख सापकोटाको पनि अर्जुन लामा अपहरण र हत्या प्रकरणको मुद्दा कार्यान्वयमा ल्याउन ‘सेटिङ’ गर्नेछन्। त्यसको अर्थ ओलीले राज्यका सबै संयन्त्र प्रयोग गरी आफ्ना प्रतिद्वन्द्वीलाई ठेगान लगाउने अन्तिम प्रयास गर्नेछन् ।

नेकपा एउटा कि दुईवटा !
प्रधानमन्त्री र मन्त्रिपरिषद् एउटै देखिएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई वटा बनिसकेको छ । प्रधानमन्त्री केपी ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् र त्यहाँ आफू पक्षीय विशाल भट्टराईलाई ल्याएका छन् । विभाजित भइनसकेको नेकपा संसदीय दलमा दुई नेता (ओली र प्रचण्ड) दुई प्रमुख सचेतक भट्टराई र गुरुङ हुने अवस्था देखिएको छ ।

सभामुख अग्नी सापकोटाका लागि चुनौति भनेको कुन समूहको निर्णयलाई मान्यता दिने भन्ने छ । अब कुन नेकपा संसदीय दलका नेता? कुन प्रमुख सचेतकलाई मान्यता दिने? यही जटिल प्रश्नहरु सभामुख सापकोटासमक्ष तेर्सिएका छन् । संसदमा ह्वीपको अवज्ञा भएमा संसदको सदस्यतासमेत जाने भएकोले ओलीले गुरुङलाई हटाएको बुझ्न सहज छ। तर अब सांसदहरुले विशाल भट्टराई र देव गुरुङमध्ये कसको ह्वीप मान्ने ? भन्ने जटिलता थपिएको छ ।

प्रचण्ड किङ मेकर कि ओली किङ
संसदीय राजनीतिको केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नै छन् । २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेपछि प्रचण्डको राजनीतिक भूमिका खुम्चिएको थियो । तर कुनै बेला तत्कालीन राजा ज्ञानेन्द्रको शैलीमा ओलीले आफ्ना विपक्षीजति सबैलाई मिल्न दिएर आफू एक्लिने गल्ती गरेका कारण प्रचण्ड पुनः शक्तिशाली भएका छन् । भारतीय नाकाबन्दीपछि निर्माण गरेको राष्ट्रवादी छवि पतन भएपछि ओली राजनीतिक अवसानको स्थितिमा उनी पुगेका छन् ।


ओलीले लिपुलेक र कालापानी सहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयलाई पनि आफ्नो पहलमा भएको भनेर भजाउन नखोजेका होइनन् । तर बारम्बार एउटै विषयमा दलील गर्दै भनिरहेपछि जनतामा उनका कुरा बिकेनन् ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रचण्ड कुनै न कुनै रूपमा राजनीतिको मियोमा रहे । उनी चलेपछि मात्र अरु राजनीतिक खेलाडीहरू चल्न सक्ने अवस्था थियो । अहिले फेरि एक पटक प्रचण्ड राजनीतिको केन्द्र र निर्णायक व्यक्तित्व बनेका छन् । संसद पुनर्स्थापनापछि मियोमा रहेर प्रचण्डले नेपाली राजनीति र राजनीतिक खेलाडीहरूलाई आफू अनुकुल घुमाउने अपेक्षा गरिएको छ तर राजनीतिक र संबैधानिक जटिलता बढाउँदै सत्तामा टाँसिइरहने ओलीको रणनीतिले भने डरलाग्दो पटाक्षेप गरेको छ ।

प्रचण्डले शनिबारमात्र प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका थिए । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए । सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।

अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी पनि गरेका छन् । अहिलेको जटिल परिस्थितिमा प्रचण्ड राजनीतिक परिवर्तनको मियो अर्थात् ‘किङ मेकर’ हुन्छन् कि उनले भने जस्तै महाराजधिराज सम्झिएका ओलीले साम दाम दण्ड भेद प्रयोग गरेर राजा जस्तै निरंकुश ‘किङ’ हुन्छन् हेर्न बाँकी छ । देशको राजनीति पनि ओली किङ बन्ने कि प्रचण्ड किङ मेकर भन्ने कुराले पटाक्षेप गर्नेछ ।

 

यो पनि हेर्नुस्- 

ओलीको अडानले थप संकट, होला त नाटकीय सहमति !

राष्ट्रपतिको यो अनौठो तरिका

बाबुराम भट्टराईको आक्रोशपूर्ण ट्वीट- पूरानै कुराबाट नयाँ परिणाम खोज्नु पागलपन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्