सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति – Janadesh Daily | ePaper

सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति


येरेभान ।

आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गर्नुभएको छ । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गर्नु भएको हो ।

देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगर्नु भएको हो, राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन् ।

सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिनु उहाँको दायित्व भएको राष्ट्रपति निकटस्थहरुको भनाई छ ।

प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गर्नु भएको थियो ।

सेनाप्रमुख सहितका वरिष्ट सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई “सैन्य कु” को संज्ञा दिनु भएको थियो ।

आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उहाँले सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नु भएको थियो । सेनाले सरकारको अपेक्षा र हितभन्दा विपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उहाँको भनाई थियो ।

आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्