औषधीय गुण भएको करेलाको बियाँ – Janadesh Daily | ePaper

औषधीय गुण भएको करेलाको बियाँ


तीते करेलाको सेवनले स्वास्थ्य लाभ हुन्छ भन्ने कुरा हामी धेरैलाई थाहा भइसकेको छ । डायबेटिजका बिरामीहरूका लागि त तीते करेला रामवाण नै हुन्छ भन्दा पनि हुन्छ । यसको सेवनले रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पुग्छ ।

करेलाको बियाँ, पात, फूल हरेक भागमा औषधीय गुण हुन्छ । पतञ्जलि योगपीठका आचार्य बालकृष्णले टाउको दुख्दा वा अनुहारमा पिम्पल्स आदि खटिरा आउँदा करेलाको पात पिसेर बनाएको पेस्ट लगाउँदा लाभ मिल्ने बताएका छन् । त्यस्तै सन् २०१२ मा प्रकाशित पोषणसम्बन्धी जर्नलमा करेलाको बियाँको तेल शरीरमा बोसो सञ्चय कम गर्न प्रभावकारी हुने बताइएको छ । करेलाको सही प्रयोग गर्ने हो भने यसको बियाँसहित उपयोग गर्नुपर्छ ।

करेलाको बियाँले के गर्छ ?

१. कब्जियतको समस्या कम गर्छ 

जब तपाईं बियाँसहितको करेला खानुहुन्छ, यसले शरीरमा एकप्रकारको फाइबरको रूपमा काम गर्दछ । जसले गर्दा मेटाबोलिज्म प्रक्रिया राम्रो हुन्छ । अर्थात् हामीले खाएको भोजन पाचन क्रियाद्वारा

ऊर्जामा परिणत हुन मद्दत पुग्छ । साथै कब्जियतको समस्या पनि कम हुन्छ । कब्जियतको समस्या कम हुने भएकाले मधुमेहीका लागि करेलाको बियाँ धेरै लाभदायक मानिन्छ ।

२. इन्सुलिन बढाउँछ 

इन्सुलिनको कमी भयो भने शरीर चिनी पचाउन सक्षम हुँदैन । यसले गर्दा शरीरमा चिनीको मात्रा बढ्छ र रगतमा मिलेर शरीरभर सर्कुलर हुन्छ । मधुमेहका बिरामीले बियाँसहितको करेला सेवन गरेमा यसले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्दछ । किनभने करेलामा इन्सुलिनको सरह काम गर्ने गुणहरू हुन्छन् । यसले ऊर्जाको लागि कोशिकामा ग्लुकोज ल्याउनसमेत मद्दत गर्दछ ।

३. कोलेस्ट्रोलको स्तर कम गर्दछ

मधुमेहका बिरामीमा कोलेस्ट्रोलको मात्रा बढेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ । वास्तवमा कोलेस्ट्रोलको उच्च स्तरले धमनीहरूमा फ्याट जम्न सक्छ र मुटुमा रगत पम्प गर्न समस्या हुन्छ । तीते करेलाको बीउले एलडीएल अर्थात् खराब कोलेस्ट्रोल र ट्राइग्लिसेराइड्स (टीजी) को स्तर कम गर्दछ र राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ । यसले गर्दा मुटुमा रगत पम्प हुन सहज हुन्छ ।

४. वजन सन्तुलित राख्छ

करेला खाँदा जहिले पनि यसको बियाँसहित खानुहोस् । यसको बियाँमा प्रशस्त फाइबर हुन्छ, जसबाट शरीरले गर्ने पौष्टिक पदार्थको शोषणमा सन्तुलन ल्याउन मद्दत पुग्छ । यसले गर्दा शरीरको तौल सन्तुलन राख्न सहयोग पुग्छ । पेटको मल सजिलैसँग बाहिर निकाल्नसमेत करेलामा हुने बियाँले भूमिका खेल्छ ।

५. इम्युनिटी पावर बढाउँछ

यदि तपाईंको पाचन प्रक्रिया सन्तुलित छ भने यसले तपाईंको प्रतिरक्षा प्रणाली अर्थात् इम्युनिटी पावर मजबुत गर्दछ । बियाँसहितको करेलामा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन सी र फाइबरको मात्रा हुन्छ, जुन तपाईंको इम्युनिटी पावर बढाउनका लागि आवश्यक हुन्छ । इम्युनिटी पावर बढ्यो भने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

बियाँको उपभोग कसरी गर्ने त ?

१. करेलालाई यसको दानासँगै सुकाउनुहोस् । सुकेपछि पिसेर पाउडर बनाउनुहोस् र दिनहुँ तातो पानीसँग सेवन गर्नुहोस् । यसले तपाईंको पेट सफा हुन मद्दत पुग्छ ।

२. करेलाको बियाँ निकाल्नुस् । यो बियाँ र लसुन पिसेर लेदो बनाउनुहोस् । उता बीउ निकालेको करेलाभित्र प्याजका टुक्रा हालेर फ्राइ गर्नुहोस् । त्यसपछि अगाडि तयार पारेको प्युरीमा सो करेला हाल्नुहोस् । यसमा केही मात्रामा नून–मसला राख्न सकिन्छ । मधुमेहका बिरामीहरूका लागि यो परिकार फाइदाजनक छ ।

३. करेला उमालेर यसको बियाँसँगै पिस्नुहोस् । त्यसपछि यसमा रायोको दानाको पाउडर र करी पात हाल्नुहोस् । आवश्यकता र स्वादअनुसार मसला राखेपछि करेलाको चटनी तयार हुन्छ । यो सबैका लागि हितकर हुन्छ ।

(साधनाबाट साभार)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्