पूरै एक्लिए बादल, बिरु तामाङ पनि बादल गुटबाट बाहिरिए – Janadesh Daily | ePaper

पूरै एक्लिए बादल, बिरु तामाङ पनि बादल गुटबाट बाहिरिए


जनादेश, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का स्वकीय सचिव बिरु तामाङले बादलको साथ छोडेका छन् । बादलले पूर्व जनमुक्ति सेनाको संगठनका प्रमुख समेत रहेका तामाङलाई हटाएको बताइएपनि बिरुले आफै छोडेको बताइएको छ ।

तामाङले पछिल्लो पटक जनवर्गीय संगठनहरु पुर्नगठनका बेला बादल पक्षलाई ओली पक्षले अपमान गरेको अभिव्यक्ति दिँदै आएका थिए र आफूहरुमाथि भएको अन्यायको सुनुवाई भए प्रचण्डको समूहमा जाने संकेत पनि दिएका थिए । बादल निकट स्रोतका अनुसार बादलले आफूसँग रहने तर प्रचण्ड र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै तामाङमाथि लगाउँदै आएका थिए । यसअघि, ओलीले संसद् विघटन गरेपछि बादलका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए।

गृहमन्त्री पद जोगाउनकै लागि जनयुद्धका साथी र सहकर्मीलाई छोडेर प्रधानमन्त्री केपी ओलीको समूहमा लागेका गृहमन्त्री थापा बादल पूर्णतः एक्लिएका छन् ।

गृहमन्त्रीको कुनै कमाण्ड र अडान नरहेको भन्दै बादलले ब्युँताएको वाईसीएलका वीरु तामाङबाहेकका युवाहरू पनि ओलीतिर लागेपछि बादल गुट विघटनतिर गएको देखिएको हो ।

आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। त्यसको संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए। तर, तामाङको नेतृत्वमा रहेका युवाहरु एक्लाएक्लै ओली समूहले एकलौटी पुनर्गठन गरेको युवा संघमा प्रवेश गरेका छन्।

बादलको साथ लागेका केही युवा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा फर्किएका छन् । वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्