पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने – Janadesh Daily | ePaper

पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने


बग्दाद ।

 इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्नु हुने भएको छ ।

कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा उहाँले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान–अन–वान) गर्नु हुनेछ ।

कोरोनाभाइरस महामारी, हिंसा र कमजोर सरकारी सेवाका कारण निकै दबाबमा रहेको इराकी सरकारका पदाधिकारीसँग पनि उहाँले भेटवार्ता गर्नु हुनेछ ।

युद्धको चपेटामा परेको इराकमा इसाई समुदायको जनसंख्या सन् २००३ मा १५ लाख रहेकामा हाल करिब चार लाख मात्र रहेका छन् ।

तीन दिने यस भ्रमणका क्रममा पोप फ्रान्सिसको कोरोनाभाइरस महामारी फैलिन थालेयता पहिलो हो । बग्दाददेखि शिते धर्मगुरु बस्नुहुने नजाफ शहरसम्मको मार्गमा पोपलाई स्वागत गर्न तुल, ब्यानर राखिएका छन् ।

इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ । यहाँका इसाईहरु आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य रहेका छन् ।

यसअघि पोल जोन पल द्वितीयले सन् २००० मा इराक भ्रमण गर्ने योजना बनाउनु भएको थियो तर तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले उहाँको भ्रमण रद्द गरिदिनु भएको थियो । उहाँपछि पोप बन्नु भएका बेनेडिक्ट सोह्रौंले बग्दाद भ्रमणको प्रयास नै गर्नु भएको थिए ।

सन् २०१३ मा निर्वाचित भएपछि फ्रान्सिसले इराक भ्रमण गर्ने योजना अघि सार्नु भएको थियो । सन् २०१९ राष्ट्रपति बरहाम सालेहले औपचारिक रुपमै पोप फ्रान्सिसलाई इराक भ्रमणको निम्तो दिनु भएको छ । वर्षौंदेखि युद्धमा होमिएको मुलुकमा शान्तिको सन्देश फैल्याउन पनि पोपको भ्रमणले मद्दत गर्ने राष्ट्रपति सालेहको विश्वास छ ।

अन्तर–धार्मिक सम्बन्ध सुदृढीकरणमा विश्वास राख्ने पोपले यसअघि टर्की, मोरक्को र युनाईटेड अरब इमिरेट्स समेतका मुस्लिम मुलुकहरुको भ्रमण गरिसक्नु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्