कोबाट असुरक्षित छन् ओली ! किन गरिरहेका छन् आफू मारिनसक्ने कुरा ? यसो भन्छन् विज्ञ – Janadesh Daily | ePaper

कोबाट असुरक्षित छन् ओली ! किन गरिरहेका छन् आफू मारिनसक्ने कुरा ? यसो भन्छन् विज्ञ


जनादेश विश्लेषण ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असुरक्षित रहेको बताएर देशको सुरक्षा व्यवस्था र उनको मनोविज्ञानबारे नयाँ बहस सिर्जना गरिदिएका छन् ।

सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई सम्झाए ।

‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’ ओलीले अनौठो दावीसहितको भाषणमा भने ।

कोबाट असुरक्षित छन् ओली !

ओलीको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबीसै घण्टा तैनाथ हुन्छन् । उनलाई जे चाहिन्छ त्यही उपलब्ध हुने अवस्था छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ । यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।

प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सुरक्षाविद्को भनाई छ ।

प्रधानमन्त्रीका साथमा नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरू आवश्यक सुरक्षा साधनका साथ खटिएका हुन्छन् । प्रधानमन्त्रीको निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी चौबीसै घण्टा सूचना संकलनमा सक्रिय हुन्छन् । सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मी स्वचालित हतियारका साथ तम्तयार रहन्छन् ।

तर यस्तो अवस्थामा पनि प्रधानमन्त्री कसरी असुरक्षित महसुस गरिरहेका होलान् त ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने अवस्थाले देशको सुरक्षा र आम नेपालीको मनोदशा के होला ?

प्रधानमन्त्री ओलीले भनेजस्तो उनको सुरक्षा खतरा बढेको हो भने यो निकै गम्भीर कुरा हो । गृहमन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र अन्य केही उच्च पदस्थहरूको सुरक्षा बढाएको छ । साँच्चै प्रधानमन्त्री ओलीमाथि ज्यानकै खतरा हुने गरी सुरक्षा जोखिम छ ?

सुरक्षाजस्तो विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निकै संवेदनशील विषय भएको जानकारहरुको भनाई छ । आफू रक्षात्मक हुँदै गएपछि सहानुभूतिका लागि प्रधानमन्त्रीले यस प्रकारको विषय उठाएको हुन सक्ने उनीहरुको बुझाई छ । राजनीतिक रुपमा आफ्नो साख गुम्दै गएपछि, आफूले चालेका कदमहरु असफल हुँदै गएपछि सहानुभूति बटुल्नका लागि प्रधानमन्त्रीले यस्ता हलुका टिप्पणी गर्न थालेको हुनसक्ने सुरक्षा विज्ञहरु बताउँछन् ।

सुरक्षा मामिलाकी जानकार इन्द्र अधिकारीले प्रधानमन्त्री ओली नैतिक, वैधानिक र राजनीतिक हिसाबले कमजोर बन्दै जाँदा प्रतिरक्षात्मक हुन अत्यन्त भावनात्मक र कपोकल्पित कुरा गर्न थालेको बताएकी छिन् ।

सुरक्षाविद् अधिकारीको भनाइमा जनाधार भएको नेतालाई कसैले पनि केही गर्न सक्दैन, जनताले नै सुरक्षा गर्छन् । ‘जब नेतालाई जनता आफ्नो साथमा छैनन् भन्ने लाग्छ, त्यसपछि यस्तो अभिव्यक्ति दिएर नागरिकबाट सहानुभूति बटुल्ने प्रयास हुन्छ’, उनी थप्छिन्, ‘ओलीको अभिव्यक्ति पनि त्यही मनोविज्ञानबाट आएको हो ।’

 

यो पनि हेर्नुस्- सचेतक को ! नेकपा विवादले संसद् सचिवालयलाई सकस

प्रचण्ड-माधवलाई झट्का लाग्ने संकेत, ओली भन्छन्- कांग्रेस जसपाले साथ दिन्छन्, राजीनामा दिन्न

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्