यस्तो छ अविस्वासको प्रस्ताव असफल पार्ने ओलीको योजना र प्रचण्डको काउन्टर रणनीति – Janadesh Daily | ePaper

यस्तो छ अविस्वासको प्रस्ताव असफल पार्ने ओलीको योजना र प्रचण्डको काउन्टर रणनीति


जनादेश विश्लेषण ।

२३ फागुनमा बस्ने संसद बैठक अघि नै एक अर्कालाई संख्यात्मक र रणनीतिकरुपमा परास्त गर्न नेकपाका दुवै समूह सक्रिय भएका छन् ।

सोमबार पोखरा पुगेका प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पुर्‍याएर संसदीय दलको नेताबाट आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिए । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’, ओलीले दलभित्र प्रक्रिया खुला गरिदिने समेत बताए ।

तर ओलीले जे भनेका छन् त्यो भित्रि सत्य भने होइन । संसद् पुनर्स्थापना भएको भोलिपल्टै बालुवाटारमा आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएर ओलीले पदबाट राजीनामा नदिने, दलको बैठक पनि नबोलाउने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गराएका थिए ।

देव गुरुङको ठाउँमा प्रमुख सचेतक नियुक्त विशाल भट्टराईले शुक्रबार ओलीको पक्षमा सय भन्दा बढी सांसद रहेको दावी गरेका थिए । ओलीको अभिव्यक्ति र भट्टराईको दावी सार्वजनिक हुनुमा प्रचण्ड–माधव समूहका केही सांसदहरूले साथ दिने आश्वासन दिइएको अनुमान गरिएको छ ।

दावीअनुसार, भैरव बहादुरसिंह, माया ज्ञवाली, शेरबहादुर तामाङ, यज्ञ बोगटी, लालबाबु पण्डित, गंगा चौधरी सत्गौवा, प्रभु साह र गौरीशंकर चौधरीले समूह फेरेका छन् । साह र चौधरी मन्त्री नै बनिसकेका छन् भने तामाङले केही दिन अगाडि मात्रै वक्तव्य जारी गरेर ओली समूहलाई समर्थन जनाएका थिए ।

यी आठ जनाले साथ दिँदा ओली फेरि पनि दलको नेता कायमै रहने बुझाइका साथ प्रचण्ड–माधव समूहलाई चुनौती दिइएको ओली निकट एक नेताले बताए । प्रतिनिधिसभामा १७४ सांसद रहेको नेकपाको संसदीय दलको नेता बन्न ८८ सांसद आवश्यक पर्छ ।

संसदीय दलमा बहुमत पुगेपनि नपुगेपनि खासमा प्रधानमन्त्री ओली संसद अधिवेशन पनि छिट्टै अन्त्य गर्ने रणनीतिमा छन् । सर्वोच्चको आदेश पालना गर्ने प्रयोजनका लागि मात्रै प्रतिनिधिसभा बैठक बस्न लागेको र केही प्रस्ताव आउने हल्ला आए प्रक्रियामा अगाडि बढ्ने तर अधिवेशन लामो नचल्ने ओली पक्षीय एक नेताले जनादेशलाई बताए ।

उता प्रचण्ड–माधव समूहले भने संसदीय दलको बहुमत ओलीको विपक्षमा रहेको दावी गर्दै आएको छ । संसद् विघटन भएको दिन (५ पुसमा) यो समूहले ९० सांसदको हस्ताक्षरसहित ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव बुझाएको थियो ।

नेकपाले संसद् बैठक बस्नुअघि नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट औपचारिक रुपमा हटाउने तयारी यो समूह छ । त्यसको तयारीको लागि फागुन १९ गते केन्द्रीय समितिको बैठक डाकिएको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संवैधानिक अड्चन ल्याउन खोजेकाले अब उनलाई बहुमतबाटै हटाउनुपर्ने निष्कर्षमा पुगेको एक नेताले जनादेशलाई बताए।

कांग्रेसकोतर्फबाट अविश्वास प्रस्ताव !
राजीनामा नदिए २३ फागुनमा सुरु हुने प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी पनि प्रचण्ड–नेपाल समूहले गरेको छ। प्रस्तावबारे कांग्रेस, जसपा र प्रचण्ड–नेपाल पक्षबीच छलफल भइरहेको नेताहरुले बताए।

प्रचण्ड–नेपाल पक्षका एक वरिष्ठ नेताका अनुसार अविश्वासको प्रस्ताव भने नेपाली कांग्रेसको तर्फबाट पेस हुँदैछ। जसका लागि कांग्रेस र प्रचण्ड–नेपाल पक्षबीच छलफल तीव्र भएको छ।

सोही कारण नेकपाले पुस ५ गते संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव अघि नबढाउने सहमति भएको छ।

काठमाडौंमा पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको टिप्पणी गरेका थिए । सर्वोच्चको फैसलापछि पछारिएका ओली समूहका नेताहरुले झन् बलियो भयौं, जित्यो भन्नु हास्यास्पद रहेको अध्यक्ष प्रचण्डको भनाई छ । सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उहाँले छिट्टै अर्को सेटिङ भत्किने दाबी पनि गरे ।

निर्वाचन आयोगले केही दिनमै आफूहरुको पक्षमा निर्णय गर्ने दाबी गरेका अध्यक्ष प्रचण्डले आधिकारिक बहुमतकै हुने र सूर्य चिन्ह पनि आफूहरुकै हुने दाबी गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्