कोरोनाको खोपबारे एक अध्ययनको निष्कर्ष उत्साहजनक, नेपाल आएको खोपले कसरी गर्छ काम – Janadesh Daily | ePaper

कोरोनाको खोपबारे एक अध्ययनको निष्कर्ष उत्साहजनक, नेपाल आएको खोपले कसरी गर्छ काम


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था ८० प्रतिशतले घटाएको देखिएको छ ।

इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशत भन्दा बढिले कमी आएको हो ।

खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांकमा देखिएको छ ।

खोपको पहिलो डोज सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।

गएको हप्ता स्कटल्याण्डका स्वास्थ्य अधिकारीले पनि यस्तै तथ्यांक सार्वजनिक गरेका थिए । खोपको प्रभावकारिताले उत्साहित बनाएको उनीहरुले बताएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हान्ककले खोपको प्रभावकारिता सम्बन्धी पछिल्लो तथ्यांक निकै बलियो रहेको बताएका छन्।

नेपालमा लगाइएको खोप कस्तो

नेपालमा लगाइँदै आएको कोभीशिल्ड खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् । अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त खोप व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।
यो खोपको प्रकार ‘भाइरल भेक्टर’ हो।

अर्थात् यसमा आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरसलाई वाहकका रूपमा प्रयोग गरिएको हुन्छ।

चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकी गराउने एडिनोभाइरसलाई निस्तेज पारेर यो खोप बनाइन्छ। रोग लगाउन सामर्थ्य नभए पनि त्यसलाई कोरोनाभाइरसजस्तै देखिने बनाइएको हुन्छ।

वाहकका रूपमा प्रयोग गरिएको एडिनोभाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले सङ्क्रमण गर्दैन। अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पूरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ। तर अप्रकाशित तथ्याङ्कअनुसार दुई मात्राको बीचमा जति लामो समय भयो, खोप त्यति प्रभावकारी हुने देखिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्