डुबान र पहिरोबाट १७ को मृत्यु – Janadesh Daily | ePaper

डुबान र पहिरोबाट १७ को मृत्यु


जनादेश झापा ।

वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् ।

गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो ।

बुधबार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो । दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सीमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण र उनका भाई १२ वर्षका अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरीचौकी पृथ्वीनगरले जनाएको छ ।

आज बिहानदेखि पुनः उनीहरुको खोजी कार्य शुरु गरिएको जनाइएको छ । त्यस्तै बुधबार साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।

निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।

मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो ।

टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ । भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ ।

त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो । उनको शव कचनकवल ५ वागाडाँगी नजिकै खोला किनारमा असार ३० गते फेला परेको थियो । विरिङ खोलाले बगाउँदा झापा गाउँपालिका– ५ का २५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ ।

छिमेकीको मलामी गएको बेला खोलामा नुहाउन पसेका बेला उनलाई खोलाले बगाएको थियो । उता कमल गाउँपालिका– ५ टुक्रेका ३५ वर्षीय पुष्प राईको रतुव र चाजु खोलाको दोभानमा आएको बाढीले बगाएर मृत्यु भएको छ । घर नजिकै कुलोमा जमेको पानीमा डुबेर झापा गाउँपालिका –७ रमितेका ३६ वर्षीय नरबहादुर पुलामी मगरको मृत्यु भएको हो ।

उनको असार १५ गते मृत्यु भएको थियो । यता शिवसताक्षी नगरपालिका– ८ का ३ वर्षीय बालक कुमार विष्टको घर नजिकै कुलोमा डुबेर मृत्यु भएको हो । उनको असार १२ गते निधन भएको थियो भने बाह्रदशी गाउँपालिका–७ कञ्चनबारीका डेढ वर्षीया बालिका अनुषा टुडूको कुलोमा डुबेर मृत्यु भएको छ । उनको असार १० गते मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्