मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते – Janadesh Daily | ePaper

मस्र्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते


लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उहाँका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।

उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ । जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुई जनाको शव अस्पतालमा राखिएको छ । घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्