विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिश, प्रधानमन्त्रीले गरे लकडाउन हुन सक्ने संकेत – Janadesh Daily | ePaper

विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिश, प्रधानमन्त्रीले गरे लकडाउन हुन सक्ने संकेत


जनादेश अपडेट ।

देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो।

उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ । अनुमोदन भएपछि मात्र लागू गरिनेछ ।

प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन्। संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ।

काठमाडौं, पोखरालगायतका सहर तथा केही विद्यालय/क्याम्पसमा कोरोनाको बेलायती नयाँ भेरिएन्ट (एस जिन नेगेटिभ) बढेको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढी देखिएको सीसीएमसीले जनाएको छ।

बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न र नयाँ प्रजातिको कोरोनाबाट बच्न आम नागरिकमा अपिल पनि गरेको छ।

हाल छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोनासहित संक्रमण तीव्र भइरहेकाले नेपालमा पनि जोखिम बढेको छ।

प्रधानमन्त्री भन्छन्- फेरि लकडाउन हुन के बेर
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन सकिएन भने फेरि पनि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छमेकी मुलुक भारतमा एकैदिन डेढ लाख जनामा संक्रमण भएको उल्लेख गर्दै यसतर्फ ध्यान दिनुपर्ने बताए।

गत एकवर्ष कोभिड १९ ले पारेको बाधाले समृद्धि प्राप्तिको रफ्तार घटेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘कोभिडले दुःख दियो तर हामीले जीवन पहिले भन्यौँ,’ अब पनि कोभिडलाई सावधानीपूर्वक सामना गर्नुबाहेक अरु उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने के ग्यारेन्टी?’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्