गहुँको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल ३ हजार १५० – Janadesh Daily | ePaper

गहुँको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल ३ हजार १५०


रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ५० रुपैंयाँ तोकेको हो ।
तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गतवर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार तोकेकोमा यस वर्ष १ सय ५० रुपैंयाँ बढाएको हो ।

किसानले लागत अनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।

तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ । नगर प्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।
जनप्रतिनिधि आएदेखिनैं तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन् ।

अनुदानमा उन्नत बिऊको उपलब्धतासँगै किसानहरुले बाँझो राख्ने खेतमा समेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ ।

यो वर्ष नगरपालिकाको २ हजार ७ सय १ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा झण्डै ८ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ । यति बेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती स्यारिसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्राउने क्रममा छन् । नगरपालिकाले वडा नं. १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्