तीन दिनपछि मध्यपहाडी राजमार्ग खुला – Janadesh Daily | ePaper

तीन दिनपछि मध्यपहाडी राजमार्ग खुला


जनादेश गलकोट ।

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ ।

पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो ।

“एकतर्फी यातयात सञ्चालनमा आएको छ”, थापाले भन्नुभयो, “ठूलो पहिरो भएकाले पानी पर्नासाथ पुनः लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्था छ ।” पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

उहाँले जतिबेला पनि पुनः पहिरो खस्ने भएकाले रातको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाउनुपर्ने बताउनुभयो । भासियो लोकमार्ग लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ ।

गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको गलकोट नगरपालिकाले जनाएको छ । बिहीबार लोकमार्ग वर्षातका कारण भासिएपछि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगरउपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन निरीक्षणसमेत गरेको थियो ।

दुदिलाभाटीको भुङ्खानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्