उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण – Janadesh Daily | ePaper

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण


लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उहाँलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्य सार्वजनिक गर्नुभएको छ ।

“मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले लेख्नुभएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गर्नुभएको छ ।

उहाँले आफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानीहरु गर्ने गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री आदित्य सङ्क्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् ।

उहाँले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गर्नुभएको छ ।

उहाँसँगै अन्य केही उच्च अधिकारी र उहाँको सम्पर्कमा रहेका केही व्यक्तिसमेत सङ्क्रमित भएको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्