ओलीलाई धक्का दिने प्रचण्डको रणनीतिः यस्तो छ देउवासँग संघदेखि प्रदेशसम्मको सहमति – Janadesh Daily | ePaper

ओलीलाई धक्का दिने प्रचण्डको रणनीतिः यस्तो छ देउवासँग संघदेखि प्रदेशसम्मको सहमति


जनादेश वाच ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एक्ल्याउनका लागि नयाँ रणनीति तय गरेका छन् ।

उनले संघदेखि प्रदेशसम्म ओली गुट इतरको सत्ता बनाएर धक्का दिने र आगामी चुनावमा पनि गठबन्धन बनाएर जानेगरी नेपाली कांग्रेससँग सहमति गरेका हुन् ।

संघमा नयाँ सरकार गठनका लागि ठोस परिस्थिति नबने पनि कांग्रेस र माओवादी केन्द्रबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति बनेको छ ।

सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार नै अविश्वास प्रस्ताव दर्ता हुनसक्ने कांग्रेस एक प्रदेश सांसदले जानकारी दिए ।

नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । हाल उनी गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ महाराजगञ्जमा भएको भेटवार्तामै प्रदेशहरुमा संयुक्त सरकार बनाउन अग्रसरता लिने सहमति बनेको बताइन्छ ।

गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

यसैबीच लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समेत कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

कांग्रेस र माओवादीले जसपासमेतको साथ लिन सकेको अवस्थामा सभामा बहुमत पुग्नेछ । कांग्रेस र माओवादीबीच लुम्बिनीमा माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भइसकेको छ ।

एमालेकै झलनाथ माधव समूहले समेत साथ दिने आँकलनमा प्रचण्डले देउवासँग यस्तो सहमति गरेका हुन् । केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण गर्ने र आगामी चुनावमा पनि गठबन्धन बनाएर चुनाव लड्ने प्रचण्डको प्रस्तावमा देउवा सहमत देखिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्