भागवत खनाल, पूर्वसहसचिवः नेपाल सरकार
महाभारत सकिएपछि युधिष्ठिरको अकण्टक राज्य स्थापित भयो । भाइहरु अनुकूल थिए । भारदारहरु पनि आज्ञाकारी , देशभक्त र नैतिकवान छन भन्ने आम मान्यता थियो । राजसभामा अन्याय , अत्याचार र अविवेक भएको कुनै सिकायत आउँदैनथ्यो । भारदारी सभामा सर्वत्र शान्ति , समृद्धि र अमनचयन रहेको र त्यो सबै सत्यवादी र धर्मात्मा राजाको प्रतापकै कारण सम्भव भएको भनेर असीम गुणगान हुन्थ्यो ।
किन्तु युधिष्ठिर सोच्ने गर्दथे – भाइ -भाइमा द्वेष राखे तापनि साधारण जनतामाझ त दुर्योधनको शासन पनि लोकप्रिय नै थियो । कहीँ कसैको गुनासो थिएन ।प्रजा चुप लागेर बस्नुमा दुई कारण हुन सक्छन , एउटा गुनासो गरे उल्टै दण्ड भोग्नुपर्ने डर र अर्को जब सुनुवाइ नै हुँदैन भने गुनासो गर्नुको के प्रयोजन ?
एकदिन युधिष्ठिरले भाइहरुसङ्ग भने – हे प्रिय भाइहरु हो ! मलाई कता कता महसुस हुने गर्दछ कि के हाम्रो राज्यमा त्यस्तै शान्ति , समृद्धि र अमनचयन छ जस्तो हाम्रा गुप्तचर र भारदारहरुले वर्णन गर्ने गर्दछन ?
भाइ भीमले तुरुन्त जवाफ दिए – हो दाजै हाम्रो राज्यमा सारा प्रजा खुसी छन् , सबैले आनन्दले खान लाउन पाएका छन् , हाम्रा प्रजालाई स्वर्गीय आनन्द छ ।
अर्जुनले भने- आम धारणा त यही छ । तथापि समाजमा त्यस्तो पल्लो छेउ पनि रहेको हुनसक्छ , जहाँ राज्यको दृष्टि पुग्दैन र राज्यप्रति प्रजाको भरोसा पनि छैन । राजाका सेवकमा राजालाई प्रसन्न राख्ने चेष्टा मात्र रहने हुँदा प्रजाको बेवास्ता भएको हुनसक्छ । अर्को कुरा हिंजो भर्खरै त्यत्रो युद्ध , काटमार र उन्माद देखेका प्रजा भय र त्रासको कारण पनि चुप लागेर बसेका हुन सक्छन ।
अर्जुन साधारण किसानको भेषमा दरबारबाट निस्के । घुम्दै घुम्दै उनी एउटा सानो ग्रामीण बजारमा पुगे । अर्जुनले एउटा मिठाई पसलेलाई दुईजना युवकले हप्काइरहेको देखे । युवकहरु बिना पैसा मिठाई माग्दै थिए । पसले “माफ गर्नुस मालिक सधै बिनामूल्य मिठाई बाँडेर म मेरा बालबच्चा कसरी पाल्नसक्छु ?” भन्दै हात जोडिरहेको थिए । युवकहरु हिँडेपछि अर्जुनले पसलेलाई सोधे – यी को हुन ? तिम्रा मालिक त राजा युधिष्ठिर हुन । यिनीहरुलाई किन मालिक भनेको ? राजसभामा गुनासो नगरेर किन अन्याय सहेर बसेको ?
पसलेले उत्तर दिए – हे किसान ! तिमी त मभन्दा पनि सोझा रहेछौ । यी युवकका बाबुहरु नै राजसभाका सभासद छन्न् । कसले सुन्छ मेरो गुनासो ?
अर्जुन अझै टाढा पुगे । रात्रिको समयमा घुम्दै गर्दा उनी के देख्छन भने एउटा दुब्लो र रोगी वृद्ध प्रजाले मिल्क्याएको फोहोरभित्र खानेकुरा खोजिरहेको छ । अर्जुनले सोधे – हे वृद्ध ! यो रात्रिको समयमा किन बाहिर निस्केको ? तिमी शारीरिक र मानसिक रुपमा स्वस्थ त छौ ? तिम्रो नाम के हो ?
वृद्धले भने – हे भ्राता ! म मानसिक रुपमा पूर्ण स्वस्थ छु । शारीर रोगी भयो , श्रम गर्न सक्दिन । पोषण नपुगेर चालीस वर्षको उमेरमै वृद्ध भएको छु । मेरो सम्पत्ति छैन , सन्तान स्वार्थी छन । दिनको समयमा खानेकुरा खोज्न हिँडे सिपाहीले राजा हिड्ने बाटोमा कहाँबाट आयो यो पागल ! भनेर लखेट्छ । त्यसै कारण यो कालो रात्रिमा खानेकुरा खोज्न निस्कन्छु । मेरो नाम स्वाभिमान हो ।
अर्जुनले भने – प्रिय स्वाभिमान ! राजा युधिष्ठिर दयालु छन , उनको सरणमा जाऊ !
वृद्धले भने – जुन राजाले आफ्ना प्रजाले दु:ख पाएको जानकारी तक राख्दैन , जो आफ्ना विश्वासपात्रहरुकै लहै लहैमा धन्य धन्य हुँदै आफूलाई प्रतापी ठानेर बस्छ , त्यस्ता राजाको द्वारमा गएर याचना गर्नुभन्दा यही फोहोर टिपेर बस्नु राम्रो छ ।
अर्जुन मलिन अनुहार बनाएर दरबारमा हाजिर भए । उनले राजालाई आर्द्र स्वरमा सारा वृतान्त सुनाए । यो सुनेर राजा युधिष्ठिर आफैलाई धिक्कार्दै रुन थाले । कृष्ण त्यहीँ थिए । राजा रोएको देखेर कृष्ण पनि रुन थाले ।
अर्जुनले भने – राजा त आफ्नो राजकाजको कमजोरीमा रोए , तपाईं किन रुनु भयो ?
कृष्ण – हे अर्जुन ! धर्मराज भनिने युधिष्ठिरका प्रजा त सबै खुसी छैनन भने अरु राजाका प्रजाको हविगत कस्तो होला भनेर रुन मन लाग्यो । कुरामा लोकोपकारी र काममा आफ्ना प्रशंकलाई पोस्ने शासक भयो भने प्रजा निराश हुन्छन । प्रजाका लागि एक थोपा आँसु चुहाउन नसक्ने शासक निर्दयी हुन्छ ।