प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’ – Janadesh Daily | ePaper

प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’


 अच्युत रेग्मी, काठमाडौँ  ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ ।
कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो । सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउनुहुन्छ । “बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उहाँ भन्नुहुन्छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइसकेको छ । यात्रुको सहजताका लागि अनलाइनमार्फत समेत टिकट लिनमिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ ।
चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौँ महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो । यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ ।
विष्णुमती करिडोर विस्तारका क्रममा नयाँ बसपार्कको झण्डै १० रोपनी जग्गा गएको छ । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी–साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्कस्थल निर्माण गरिएको छ । नयाँ बसपार्कबाट उपत्यकाभित्रका केही सवारी साधन सञ्चालन भए पनि अधिकाशं सवारी साधन भने सञ्चालनमा आएका छैनन् । नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेको छ ।
सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ । यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ । ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ ।
उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ । काठमाडौँको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् ।
सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना सङ्क्रमण फैलने क्रममा कमी आउने देखिन्छ । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्