एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ – Janadesh Daily | ePaper

एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ


नारायण ढुङ्गाना, काठमाडौँ

काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ ।

बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।

आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो ।

टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै पक्राउ गरेको हो । आफूअनुकूलको काम नमानेकाले एसिड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसिड प्रहारबाट गम्भीर युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

उनको अनुहारलगायत शरीरका विभिन्न अङ्गमा असर पुगेको छ । एसिड हान्ने फैयाजसमेत घाइते भएको जनाइएको छ । यसरी भएको थियो घटना प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन । त्यसैले उनले घटना घटाउन पुगेको जनाइएको छ ।

पहिले पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् । पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे ।

निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् । केहीबेर होटलमा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैयाजले एसिड हानेका प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसिड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्