कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’ – Janadesh Daily | ePaper

कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’


जनादेश जनकपुर ।

कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ ।

एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उहाँको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो । त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिनुभयो ।

कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

सुनसान राजविराज

सङ्क्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यसेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैँकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवा बाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावतमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

भिटिएमको अभाव

सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाव सङ्कलनका लागि आवश्यकपर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले गत, बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताउनुभयो ।

कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता प्रमुख यादवले बताउनुभयो । पर्साको सदरमुकाम वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि वीरगञ्जमा पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ ।

मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको अवस्थामा कसरी कोरोना सङ्क्रमण देखिएको जानकारी गराएपछि समुदायमा कोेरोना फैलिएको भन्ने डर देखिएको हो । मुलुकमा बन्दाबन्दी हटेको भए पनि कोरोनाबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुपर्ने, भीडभाड नगर्ने र स्यानीटाइजर र साबुनपानीले हात धुनेतर्फ बढी सचेत रहनुपर्ने देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्