“संविधान मास्ने भयानक षडयन्त्र” – Janadesh Daily | ePaper

“संविधान मास्ने भयानक षडयन्त्र”



जनादेश,काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (जेठ ७ गते) बेलुकी ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न गरेको आह्वानलाई राजनीतिक दलका नेता र कानुनका जानकारहरुले संविधान विपरित भनेका छन् ।

धारा ७६(४) मा नटेकी एकैचोटि ५ मा जाने राष्ट्रपतिको १२ घण्टे (आजको रातबाहेक) आव्हानलाई उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने बदनियत ठहर्याएका हुन् । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले यो संविधान फाल्ने षड्यन्त्र हो भन्नुभएको छ ।
‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो’, उहाँले भन्नुभएको छ ।

‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन तोडी २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन’, उहाँले भन्नुभएको छ, ‘यो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’

यता संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको बताउनुभएको छ ।
‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’उहाँले भन्नुभएको छ, ‘७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो बदनियत देखियो ।’

नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पनि धारा ७६ को उपधारा ३ अनुसार बनेको प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्था र विश्वासको मत लिने प्रकृयामा असफल नहुँदै ७६ (५) को सरकार बन्ने प्रकृया कसरी सुरु हुन्छ भनी प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओलीको अनुरोधमा आज साँझ राष्ट्रपति भण्डारीले जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएर बिहीबार प्रतिनिधिसभाका सदस्यहरूलाई प्रधानमन्त्री पदका लागि आधारसहित दाबी गर्न आग्रह गर्नुभएको थियो । जनआस्थाबाट साभार गरिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्