एजेन्सी ।
स्पेनिस च्याम्पियन रियल म्याड्रिडका युवा मिडफिल्डरद्वय ताकेफुसा कुबो र रेनिएर कार्भाल्होले अर्को सिजन रियल म्याड्रिडबाट नखेल्ने देखिएको छ ।
स्पेनिस लिगको नियम अनुसार कुनैपनि टोलीले आफ्नो टोलीमा ५ जना र एकै खेलमा ३ जनामात्र युरोप बाहिरको खेलाडी खेलाउन पाउँछन् । हाल रियलमा उक्त कोटाबाट ब्राजिलका भिनीसियस जुनिअर, एडर मिलिसाओ र रोड्रीगो गोएस छन् । यसकारण रियलले कुबोलाई अर्को सिजन पनि लोनमा पठाउने सम्भावना देखिएको छ । युरोपका केहि ठूला टोलीले पनि उनीमाथि नजर राखेका छन् ।
यद्यपि कुनैपनि खेलाडीले लगातार दुई वर्ष स्पेनमै खेलेको खण्डमा भने उनीहरुले स्पेनी पासपोर्ट आवेदन दिन पाउनेछन् । भिनिसियस स्पेनी पासपोर्ट आवेदन दिन योग्य भइसक्दा पनि कोरोनाका कारण प्रक्रिया अगाडि बढ्न नसक्दा उनले समयमा नै पासपोर्ट नपाउने देखिएको छ । त्यसैले उनी अर्को सिजन कोटाबाट नै खेल्नेछन् ।
कुबो र रेनिएरले रियलको सिनियर टोलीमा अहिले नै नियमित खेल्ने सम्भावना छैन । त्यसैले रियल दुवै खेलाडीका लागि लोनमा पठाउन क्लबको खोजीमा छ । रियलले दुवैलाई सकेसम्म स्पेनिस लिगमा नै खेलाउन चाहेको छ । युरोपेली प्रतियोगिताको अनुभव बटुल्न पनि अन्य क्लब उनीहरुको गन्तव्य बन्न सक्छन् ।
रियलले मार्टिन ओडेगार्ड खेलिरहेको रियल सोसीडाडलाई कुबोको गन्तव्यका रुपमा हेरेको एएसले जनाएको छ । ओडेगार्डले उत्कृष्ट प्रदर्शन गर्दै रियलमा फर्कने संकेत दिएपनि हाल उनी त्यहींबाट खेल्नेछन् । उनलाई अर्को सिजनपछि मात्र क्लबले फिर्ता बोलाउने सहमति भएको छ । रेनिएरलाई भने रियल भालाडोलिडले ला लिगामा मौका दिने लक्ष्यसहित आबद्ध गराउन खोजेको छ ।