पीएसजी कोपा डि फ्रान्स च्याम्पियन – Janadesh Daily | ePaper

पीएसजी कोपा डि फ्रान्स च्याम्पियन


एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको च्याम्पियन बन्न सफल भएको हो ।

स्टेट डि फ्रान्स पेरिसमा शुक्रबार राति भएको खेलमा पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वान मुभमा गरेकोे प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए ।

त्यसअघि खेलको पाँचौ मिनेटमा डेनिस बोउआंगाको प्रहार पोस्टमा लागेर बाहिरिदा सेन्ट इटिने अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा माकोनको क्रसमा बोउआंगाको हेडरलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाए । २५औं मिनेटमा एन्जल डि मारियाको प्रहारलाई मौलिनले उत्कृष्ट बचाउ गर्दै अर्काे गोल टारे ।

३१औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा समेटियो । कप्तान लोइक पेरिनले केलियन एमबाप्पेमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । एमबाप्पे पनि खेल्नै नसक्ने भएपछि ३३औं मिनेटमा सब्सिच्युट गरिएको थियो । ३४औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा मोउरो इकार्डीको प्रहारलाई मौलिनले बचाए ।

दोस्रो हाफमा पनि पीएसजीले गोलका केही उत्कृष्ट मुभ बनाएपनि थप गोल गर्न नसक्दा नेयमारको गोल नै निर्णायक बन्यो । पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । पीएसजी यसअघि फ्रेन्च लिग वानको च्याम्पियन बनेको थियो । पीएसजीले कोपा डि फ्रान्स १३औं पटक जित्न सफल भएको छ ।

अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्