संसद विघटन मुद्दामा निर्णायक सुनुवाईः सबैको नजर शम्भु थापाको बहस र नोटमा – Janadesh Daily | ePaper

संसद विघटन मुद्दामा निर्णायक सुनुवाईः सबैको नजर शम्भु थापाको बहस र नोटमा


जनादेश अपडेट ।

केपी ओली सरकारले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा आज (वुधबार)देखि अन्तिम सुनुवाइ सुरु हुँदैछ ।

यो सुनुवाइ जेठ ७ गते मध्यरातमा भएको विघटनको मुद्दामध्ये विपक्षी गठनबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि हुँदै छ।

प्रतिनिधि सभा विघटन विरुद्ध ३० थान रिट दायर भएपनि संवैधानिक इजलासले देउवाको निवेदन मुख्य भएको भन्दै त्यसलाई पहिला सुनुवाइ गर्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि सुनुवाइ गर्र्र्दै लिखित जवाफ मगाएर अन्तिम सुनुवाइ गर्ने मिति तोकेको थियो।

जेठ २६ गते लामो विवाद अन्त्य गर्र्दै संवैधानिक इजलासले अन्तिम सुुनुवाइका लागि नौ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको थियो। सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक समय खर्च नहोस् भनेर बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेको छ।

सर्वोच्चले सुनुवाइका क्रममा इजलास कक्षभित्र रिट निवेदकहरुमध्येबाट एक पटकमा अधिकतम पाँच जना सम्म प्रवेश गराउने आदेशमा उल्लेख छ। निवेदकतर्फका कानुन व्यवसायीहरु एक पटकमा बढीमा तीन जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलहरुमध्येबाट एक पटकमा बढीमा तीनजना उपस्थित हुन पाउने आदेशमा उल्लेख छ। अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई÷दुई जना कानुन व्यवसायीलाई मात्र इजलास कक्षभित्र प्रवेश दिनेगरी प्रवेश पासको व्यवस्था मिलाउन सर्वोच्चको आदेशमा भनिएको छ।

प्रधानन्यायाधीश जबरासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बहस व्यवस्थापनदेखि कोभिड महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्डसमेतको पालनाका लागि यस्तो निर्देशन जारी गरेको थियो।

को को उत्रँदैछन् निवेदकका तर्फवाट वहसमा?
वुधबार मुद्दामा सुनुवाइको औपचारिक सुरुआत हुनेछ। यसका लागि निवेदकहरुले समय तालिकासहित वहसको व्यवस्थापन गरेका छन्। यसको जानकारी सर्वोच्च अदालतको मुद्दा शाखालाई पनि गराएका छन्। बुधबारको वहसमा नेपाल बारका पूर्वमहासचिव खम्बबहादुर खातीले सुरुवाती वहस गर्नेछन्। खातीले करिव २० मिनेटमा ओपनिङ वहस गरेपछि गोविन्द बन्दीले वहस गर्नेछन्। बन्दीले करिव ४० मिनेट वहस गर्नेछन्। बन्दीपछि वरिष्ठ अधिवक्ताहरुको रोलक्रम सुरु हुनेछ। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, महादेव यादव, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, मुक्ति प्रधानको पालो आउनेछ। बुधबार शम्भु थापासम्मको वहस सक्ने तयारीमा निवेदकहरु रहेका छन्। थापाले करिव १ घन्टा वहस गर्ने, अरुले ४० मिनेट गर्ने तयारी गरेका छन्। उनीहरुलाई सर्वोच्चले १५ घन्टाको समय तोकेकाले त्यही अनुसार समय व्यवस्थापन गरेर तीन दिनमा वहस सक्ने तयारीमा निवेदकहरु छन्। वरिष्ठ अधिवक्ताहरुपछि अधिवक्ताहरु टिकाराम भट्टराई, भिमार्जुन आचार्य, सुनिलकुमार पोखरेल, दिनमणी पोखरेल लगायतले पनि वहस गर्ने तयारी गरेका छन्।

सबैको नजर शम्भु थापामा
बुधबार निवेदकका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नेछन्। उनले सबैभन्दा बढी डेढ घण्टा समय पाउनेछन्। विपक्षी गठबन्धनले मुख्य वकिलका रुपमा थापालाई नै उभ्याउने भएको छ। संवैधानिक इजलासले बिहीबारसम्म वकिलहरुलाई बहस नोट पेश गर्न समय दिएको छ। निवेदकतर्फबाट एउटा मात्रै बहस नोट पेश गर्ने निर्णय गरेका विपक्षी गठबन्धनका तर्फबाट थापाले नै बहस नोट लेखेका छन्। उनले तयार पारेको बहस नोट सुझाव एवं छलफलका लागि अरु वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई वितरण गरिएको छ। र त्यसलाई मंगलबारसम्म केही काँटछाट गरिएको एक अधिवक्ताले जानकारी दिए। उनका अनुसार थापाले ५४ सय शब्दको बहस नोट तयार पारी छलफलका लागि सहकर्मीहरुलाई वितरण गरेका हुन्। जसको मुल मर्म नमर्ने गरी काटछाट गरेर २८ सय शब्दमा झारिएको स्रोतले जानकारी दियो।

सरकारी पक्षलाई १५ घण्टा
केपी शर्मा ओली पक्ष र सरकारी वकिल तथा सभामुखका लागि १५ घन्टाको समय अदालतले तोेकेको छ। सभामुखका तर्फवाट थोरै कानुन व्यवसायी हुने भएकाले सरकारी वकिलले सात घन्टा अनि बाँकी समय ओलीका निजी कानुन व्यवसायीले बहस गर्नेछन्। ओलीका तर्फवाट यसपटक पनि वरिष्ठ अधिवक्ता सुशील पन्तले लिड गर्ने वुझिएको छ। उनीसँगै ईश्वरी भट्टराई, वरिष्ठ अधिवक्ता रविनारायण अर्याल, महेश नेपाल लगायतले वहस गर्ने तयारी गरेका छन्।

सर्वोच्च बारवाट २ र नेपाल बारवाट ३ जना एमिकस क्युरीले आफ्नो धारणा राख्ने छन्। उनीहरुको धारणापछि निवेदकहरुलाई जवाफ दिने समय उपलव्ध हुने छ। उनीहरुको जवाफपछि सर्वोच्चले आफ्नो निर्णय सुनाउनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्