रोनाल्डो अर्थात एक पछि अर्को रेकर्डः १०९ गोलको यात्रा कथा (फोटो फिचर) – Janadesh Daily | ePaper

रोनाल्डो अर्थात एक पछि अर्को रेकर्डः १०९ गोलको यात्रा कथा (फोटो फिचर)


जनादेश स्पोर्ट्स ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले खेल जीवनको अर्को एक महत्वपूर्ण आँकडा पूरा गर्न सफल भएका छन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा आएका छन्, उनले इरानका अली दाईको कीर्तिमानमा बराबरी गरेका छन् ।

युरोकप फुटबल अन्तर्गत समूह एफमा रहेको पोर्चुगलले बुधबार राति भएको खेलमा फ्रान्ससँग २–२ को बराबरी खेल्ने क्रममा रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरे । उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बुधबार राति आफ्नो १०८ औँ र १०९ औँ गोल गरेर कीर्तिमानसँग बराबरी गरेका हुन्।

अली दाईले सन् १९९३ देखि २००६ सम्ममा इरानका लागि १०९ गोल गरेर बनाएको कीर्तिमानमा रोनाल्डोले बराबरी गरेका हुन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ९० वा त्यो भन्दा बढि गोल गर्ने मात्र दुई पुरुष खेलाडी छन् र ती हुन् अली दाई र रोनाल्डो । रोनाल्डो सक्रिय खेलाडी मध्ये सर्वाधिक गोलकर्ता हुन् ।

सर्वकालीन उत्कृष्ट खेलाडी बन्ने मार्गमा उनको यो अर्को कडी हो । उनी क्लब प्रतिस्पर्धाको सर्वाधिक ठूलो प्रतिस्पर्धा युरोपियन कप/च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डो विश्वकप र युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने युरोपेली खेलाडी पनि बनेका छन् । उनले २० गोल गरेर मिरोस्लाभ क्लोजले बनाएको कीर्तिमान भंग गरेका हुन् । क्लोजले १९ गोल गरेर सो कीर्तिमान बनाएका थिए । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा गरेको गोल संख्या १३ पुगेको छ ।

रोनाल्डोले युरोपियन च्याम्पियनसिपको छनौट चरणमा ३१, विश्वकपको छनौट चरणमा ३१, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा १९, युरोपियन च्याम्पियनसिपमा १३, विश्वकपमा ७, युइएफए नेशन्स लिगमा पाँच तथा कन्फेडेरेशन कपमा दुई गोल गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिमका लागि गरेका गोल मध्ये झण्डै आधार खेलको अन्तिम ३० मिनेटमा गरेका हुन् । उनले खेलको अन्तिम १५ मिनेटमा ३१ तथा ६१ देखि ७५ मिनेटको बिचमा २२ गोल गरेका छन् । उनले खेलको १६ देखि ३० मिनेटको बिचमा १७ र ३१ देखि ४५ मिनेटको बिचमा १६ गोल गरेका छन् । यस्तै खेल सुरु भएको १५ मिनेट भित्र ११ र दोस्रो हाफको पहिलो १५ मिनेट भित्र १२ गोल गरेका छन् ।

रोनाल्डोले ८९ गोल बक्स भित्रबाट गरेका हुन् भने २० गोल बक्स बाहिरबाट गरिएका छन् । उनले पेनाल्टी मार्फत १४ र फ्रि किक मार्फत ९ गोल गरेका छन् ।

रोनाल्डोको कीर्तिमानसँगै साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्। बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो।

समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४ अंक भएको जर्मनी उपविजेता बन्यो। ४ अंक नै भएको पोर्चुगल तेस्रो भएर अगाडि बढ्यो। फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले दुवै गोल पेनाल्टिमा गरेका थिए। यसैगरि फ्रान्सका लागि दुवै गोल करिम बेन्जेमाले गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो, ३१ औँ मिनेटमा। पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै बेन्जेमाले खेल बराबरीमा ल्याए।

४७ औँ मिनेटमा फ्रान्सले अग्रता लिएको थियो। तर पोर्चुगलले ६० औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा रोनाल्डो सफल भए। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अलि दाईको एक सय ९ गोलको विश्व कीर्तिमान बराबरी गर्न सफल भए। रोनाल्डोको नाममा युरो कप र च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्