नेपालमा बढ्दै व्ल्याक फंगसका विरामी, औषधि पाइँदैन, बैकल्पिक औषधि किनी नसक्नु महंगो – Janadesh Daily | ePaper

नेपालमा बढ्दै व्ल्याक फंगसका विरामी, औषधि पाइँदैन, बैकल्पिक औषधि किनी नसक्नु महंगो


जनादेश हेल्थ डेस्क ।
छिमेकी भारतमा कोभिडका बिरामीमाझ प्रकोपका रूपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि देशभरि अहिलेसम्म करिब २६ जना बिरामीमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको उक्त अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले बताए।

गएको शनिवारमात्रै थप दुई जना बिरामी भर्ना भएका र उनीहरूको अवस्था गम्भीर रहेको प्रधानाङ्गले बताए। धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता धेरै आउने र आँखा नै नदेख्ने हुने गरेको उनले बताए।

“म्यूकोर्माइकोसिस भएका एकजना बिरामीले ज्यान नै गुमाउनुभयो भने दुईजनाको आँखा निकाल्नुपर्‍यो। पछिल्लो पटक भर्ना हुन आएका दुईजना बिरामीको पनि अवस्था गम्भीर छ,” डाक्टर प्रधानाङ्गले भने।

वैकल्पिक औषधि
म्यूकोर्माइकोसिसका बिरामीलाई मुख्यतया ‘एम्फोटेरिसिन बी’ नामको औषधि दिइने गरिएको र अहिले उक्त औषधिको उपलब्ध नभएको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।

डाक्टर प्रधानाङ्गले भने, “यो औषधि अहिले बजारमा छैन। त्यसैले अहिले बिरामीले विकल्पका रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेका छन्।”

उनका अनुसार एम्फोटेरिसिन बीको दाँजोमा पोसाकोनाजोल सस्तो छ तर यसका ‘साइड इफेक्ट’हरू धेरै छन्।

एम्फोटेरिसिन बीलाई भारतले ‘निर्यात प्रतिबन्धित औषधि’को सूचीमा राखेपछि नेपालले म्यूकोर्माइकोसिसका बिरामीको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनसँग उक्त औषधिको ३ हजार भाइल पठाउन अनुरोध गरेको थियो।

“त्यसरी माग गर्दा जुन महिनाको सुरुमा १ हजार भाइल नेपाल आए पनि त्यसले करिब १८ जना बिरामीको उपचार गर्न सम्भव भयो,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले भने।

कालाजारका बिरामीलाई प्रयोग हुने उक्त औषधि अब कालाजारको उपचारकै लागि पनि बाँकी नरहेको उनले बताए।

प्रवक्ता पौडेलले भने, “अहिले अवस्था चुनौतीपूर्ण छ। हामीले कालाजारको उपचारका लागि राखेको औषधि पनि म्यूकोर्माइकोसिस भएकै बिरामीलाई प्रयोग गरिसक्यौँ।”

“त्यही भएर हामीले विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरेका छौँ र दुई हजार भाइल आइदियो भने हामीले कालाजारलाई पनि व्यवस्थापन गर्न सक्थ्यौँ।”

विश्व स्वास्थ्य सङ्गठनले पनि अन्तर्राष्ट्रिय बजारमा ‘एम्फोटेरिसिन बी’ को उपलब्धता सहज नभएको खबर आफूहरूलाई पठाएको प्रवक्ता पौडेलले बताए।

“सहज उपलब्ध छैन भनेर हामीलाई सूचना दिएको छ। अहिले बजारमा पोसाकोनाजोल उपलब्ध भएकोले धेरै बिरामीले यो प्रयोग गरिरहनुभएको छ,” उनले भने।

पोसाकोनाजोलको दाँजोमा एम्फोटेरिसिन बी निकै महँगो पर्छ। प्रवक्ता पौडेलका अनुसार भारतमा उक्त औषधिको मूल्य १० हजार रुपैयाँ पर्छ भने बाङ्ग्लादेशमा २५ देखि ३० हजार रुपैयाँ पर्छ।

स्वास्थ्य सेवा विभागले पनि खरिदका लागि टेन्डर सुरु गरेको तर औषधि महँगो भएकाले त्यसको प्रक्रिया खासै अघि नबढेको बताइन्छ।

“औषधिको मूल्यमा भिन्नता धेरै भएपछि टेन्डरको प्रक्रियामा भाग लिने नै धेरै भेटिएका छैनन् भन्ने बुझेको छु,” प्रवक्ता डाक्टर पौडेलले भने, “आपूर्तिकर्ताले पोसाकोनाजोल ल्याइरहेकोले अहिलेको व्यवस्थापन त्यसरी नै भइरहेको छ।”

म्यूकोर्माइकोसिसको उपचारमा प्रयोग हुने एम्फोटेरिसिन बी एकजना बिरामीका लागि करिब ८० वटा भाइल आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।

भारतीय मूल्यमै पाइए पनि सामान्य हिसाबमा एकजना बिरामीका लागि औषधि मात्रै कम्तीमा ८ लाख पर्न जाने देखिन्छ।

डब्लुएचओले पठाएको अनुदानको औषधि बिरामीलाई निःशुल्क दिइएको भए पनि पोसाकोनाजोल भने बिरामीले आफ्नै खर्चमा किनिरहेका छन्।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या घटिरहँदा म्यूकोर्माइकोसिसका बिरामी पनि घट्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

“गत एक महिनाको तथ्याङ्क हेर्ने हो भने यो यसरी बढिरहेको तथ्याङ्क पनि छैन। एकदमै कम गतिमा छ र सङ्क्रमण दर घट्दै जाँदा यो त्यति नदेखिएला भन्ने अनुमान पनि छ,” डाक्टर पौडेलले भने।

तर यो रोगको जोखिमबाट बच्न लक्षण देखिने बित्तिकै बिरामीहरू अस्पताल पुग्नुपर्ने डाक्टर प्रधानाङ्ग बताउँछन्।

“कोभिड भएका र मधुमेहमा चिनीको मात्रा र्धेरै भएकाहरूले नाक बन्द हुने र आँखा सुनिने बित्तिकै म्यूकोर्माइकोसिसको शङ्का गरेर उपचार गर्न अस्पताल गइहाल्नुपर्छ,” डाक्टर प्रधानाङ्गले भने, “समयमै उपचार गरे बिरामीलाई निको हुन्छ। अवस्था जटिल भइसकेपछि बिरामीलाई जे पनि हुनसक्छ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्