मेस्सीको मुस्कानको कथाः १० औँ प्रयासमा देशलाई जिताए सर्वाधिक पुरानो प्रतियोगिताको उपाधि – Janadesh Daily | ePaper

मेस्सीको मुस्कानको कथाः १० औँ प्रयासमा देशलाई जिताए सर्वाधिक पुरानो प्रतियोगिताको उपाधि


जनादेश स्पोर्ट्स ।

लियोनल मेस्सीले १० औँ प्रयासमा राष्ट्रिय जर्सीमा अन्तर्राष्ट्रिय प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्। विश्वकै पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकाको उपाधि जिताउँदै मेस्सीले देशलाई उपाधि जिताउने सपना पूरा गरेका हुन् ।

कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन्।

अर्जेन्टिनाले नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा साबिक विजेता टोली ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरेर कोपा अमेरिका फुटबलको उपाधि जितेको हो।

२२ औँ मिनेटमा डी पलको सहयोगमा एन्जल डी मारियाले गरेको गोल २८ वर्ष अर्थात सन् १९९३ पछि अर्जेन्टिनालाई क्षेत्रीय विजेता बनाउन पर्याप्त भयो।

सन् २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टिममा रहेका मेस्सीले ३४ वर्ष हुँदा अर्थात सक्रिय खेल जीवनको उत्तरार्धमा आएर आफ्नो जीवनको शीर्ष सफलता हात पारेका हुन्। तर यो जितमा उनले आफै गोल भने गर्न सकेनन् वा पाएका केही मौकामा सफल रहन सकेनन्।

मेस्सीले कोपा अमेरिकामा छैटौँ सहभागितामा उपाधि जितेका हुन्। सन् २००७ देखि कोपा खेल्दै आएका उनको टिम अन्ततः १५ वर्षपछि उपाधि जित्न सफल भयाे। उनले राष्ट्रिय टिममा स्थान बनाएको १७ वर्षमा उपाधि जितेका हुन्।

सन् २००७ मा उपविजेता बनेको अर्जेन्टिना २०११ मा क्वाटर फाइनलसम्म पुग्यो। मेस्सीको कप्तानीमा सन् २०१५ र २०१६ मा अर्जेन्टिना फाइनल पुगे पनि उपाधि जित्न सकेन।

२०१९ मा भएको प्रतिस्पर्धामा सेमिफाइनलको यात्रा तय गरेको अर्जेन्टिनाले यो पटक साबिक विजेतालाई स्तब्ध पारेर उपाधि जितेको हो।

मेस्सीले अर्जेन्टिनाको जर्सीमा चार पटक विश्वकप खेलेका छन् र आउँदो वर्ष कतार विश्वकपले सो संख्या पाँच बनाउने सम्भावना छ।

सन् २००६ मा पहिलोपटक मेस्सीले विश्वकप खेल्दा अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको थियो। सन् २०१० मा पनि क्वाटर फाइनलमा पुग्यो।

२०१४ मा मेस्सी कप्तानीको अर्जेन्टिना उपविजेता बन्यो विश्वकपमा। २०१८ को विश्वकपमा मेस्सीसहितको अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो। उनले विश्वकपमा खेलेका १९ मध्ये १२ र कोपा अमेरिकामा खेलेका ३४ मध्ये २१ खेल जितेका छन्।

मेस्सीले राष्ट्रिय टिमबाट ७६ गोल गरेका छन्। पछिल्लोपटक जुलाई ३ मा भएको कोपा अमेरिका क्वाटर फाइनलको खेलमा इक्वेडरविरुद्ध उनले गाेल गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्