साढे ३ वर्षमा नेकपा र एमाले ध्वस्त पारेर सत्ताच्युत भएका ओलीबाट सिक्नै नहुने केही कुरा – Janadesh Daily | ePaper

साढे ३ वर्षमा नेकपा र एमाले ध्वस्त पारेर सत्ताच्युत भएका ओलीबाट सिक्नै नहुने केही कुरा


जनादेश टिप्पणी ।

डाक्टर बाबुरामको शब्दमा भन्दा अहंकार र अल्पज्ञानको पुञ्जकोरुपमा रहेका केपी ओली जति सम्मानजनक र शक्तिशालीरुपमा सत्तारोहण गरेका थिए त्यतिकै अनुपातमा अपमानजनक र निरीह अवस्थामा सत्ताबाट बाहिरिएका छन् । दोस्रो कार्यकाल प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले ४१ महिना सरकारको नेतृत्व गरे तर यो समयमा उनले न सशक्त रूपमा काम गरेर देखाउने अवसर सदुपयोग गर्न सके, न त जनताले मत दिएर बनाइदिएको ठूलो पार्टी नै जोगाउन सके ।

पार्टीभित्र छलफल गर्नुको साटो मनोमानी गरेका ओलीले कमजोरी सुधार गरेर विरोध मत्थर पार्नेभन्दा सहकर्मीलाई तर्साउने बाटो रोजे ।

पार्टी एकताको बेला तुजुक
२०७५ पुस १ गते तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले उद्घोष गरेका थिए, ‘दुनियाँभरिका बुर्जुवाहरुलाई भन्न चाहन्छु– मिलेर दुईटाले अध्यक्षता चलाउन सक्छौ कसैले? यो (दुई अध्यक्ष) देखेर आश्चर्यचकित भएका छन्, यहाँ लडाइँ झगडा लगाउन सकिन्छ कि! यहाँ फेसो ठोक्न सकिन्छ कि! यी कुर्सी अलि परपर सार्न सकिन्छ कि! प्रयास त्यो हो। म भन्दिन चाहन्छु- नेपालमा अचम्म हुन्छ। दुइटा अध्यक्षको अभ्यास हेर्नुहोस्, कसरी अगाडि बढ्छ? संविधानले मिल्दैन, नत्र दुइटा प्रधानमन्त्री पनि हुन बेर लगाउँदैनौं।’ उनले बोल्दै गर्दा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ फर्केर आत्मविश्वास प्रकट गरेका थिए ।

त्यतिबेला नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच निकै निकटता थियो। नेकपा गठन भएपछिका केही महिना ओलीले प्रचण्डसँग मिलेर निर्णय गर्ने र पदीय भागबण्डा मिलाउने काम गरे। उनले पूर्वएमालेभित्रको शक्ति सन्तुलनलाई बेवास्ता गर्दे अघि बढे। कतिसम्म भने, माधव नेपाल घाना भ्रमणमा गएको अवसर पारेर २०७५ असोज ५ गते बसेको सचिवालय बैठकमार्फत प्रदेश पदाधिकारी चयन गरियो। जबकि, उनी त्यता प्रस्थान गर्नुअघि उनलाई अध्यक्ष ओलीले कुनै निर्णय नगरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपालको तेजोबध गर्ने सिलसिलाको अर्को घटना २०७६ वैशाख ९ गते घट्यो। काठमाडौंको सभागृहमा नेपाल कम्युनिस्ट पार्टीको ७०औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो। त्यो कार्यक्रममा नेता नेपाललाई बस्ने कुर्सीमा वरियता ख्याल गरिएको थिएन। साथै, नेता नेपाललाई बोल्ने नेताको सूचीमा पनि राखिएको थिएन। आफूलाई अपमानित गरिएको ठानेका नेता नेपाल बीचमै कार्यक्रम छाडेर हिँड्नुपर्‍यो ।

नेपालपछि ओलीले प्रचण्डसँग त्यस्तै व्यवहार गर्न थाले । सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण नगर्ने बुझेपछि प्रचण्डले आफ्ना अन्तर्वार्ताहरुमा सो सम्झौताको चर्चा गर्न थाले। जसले ओलीमाथि झनै दबाब बढायो। आफ्नो सत्ता सुरक्षित गर्न उनले २०७६ मंसिर ४ गते नयाँ सम्झौता गरे। सो दिनको सचिवालयको निर्णयमा भनियो- ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने। बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने। आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने।

तर प्रचण्डको ‘फिलिङ’लाई तत्कालै ओलीले तेजोबध गरिदिए। मंसिर ९ गते कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ सँगको कुराकानीमा उनले आफू नै पहिलो नम्बरको अध्यक्ष भएको बताए। ‘मैले अध्यक्षता नगर्ने र म कार्यकारी होइन भन्ने होइन। म पनि कार्यकारी अध्यक्ष हो र म सिनियर अध्यक्ष हो। वरीष्ठताक्रममा मेरो प्रथम स्थान हो। त्यसपछि उहाँ हो र म पनि कार्यकारी हो। उहाँ पनि कार्यकारी हो’, ओलीको भनाइ थियो। पुस ५ मा प्रतिनिधि सभा विघटनपछि नेकपाका नेताहरुको सम्बन्ध निकै बिग्रियो। त्यसक्रममा अन्य आरोपका अतिरिक्त ओलीले प्रचण्डलाई दोस्रो वरियता भनेको उपाध्यक्ष जस्तै हो भन्न थाले। आफैंले कार्यकारी दिएको थिएँ, अब खोसिदिएँ भन्न थाले।

नेताहरुसँग तिक्तता पनि बढ्दै गयो। उनी कर्णाली प्रदेशमा सरकार फेर्ने दिशातिर अघि बढे, आफू अनुकूल राजदूत नियुक्ति गर्न र मन्त्रिपरिषद्मा हेरफेर गर्न थाले। पार्टी निर्णयहरु अवज्ञा गर्न थाले। यसैक्रममा उनले प्रधानमन्त्री निवास बालुवाटारमै ‘रअ’ प्रमुखलाई भेटेका थिए। यतिञ्जेल आइपुग्दा उनी सहयोद्धाहलाई मात्रै होइन, स्वयं पार्टीलाई नै अपमानित गर्न थालिसकेका थिए।

फागुन २३ गते नेकपा नाम विवादमा फैसला गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनकै दल एमाले विभाजनको डिलमा पुग्यो। अब एमाले एक नरहने निश्चित भैसकेको छ ।

तीव्र विवाद र आलोचनालाई बेवास्ता गर्दै उनी ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ भन्ने शैलीमा अघि बढ्दै गए। नेकपा विभाजन भएपछि अल्पमतमा परेपछि वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णयमा पुगेका उनले विश्वासको मत भने पाउन सकेनन्। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री बने। त्यसरी प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर, उनले जेठ ६ गते विश्वासको मत नलिने निर्णयमा पुगेको र नयाँ प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गरेको बताए।

 

तर विपक्षीको सरकार बन्ने देखेपछि फेरि प्रधानमन्त्रीमा दाबी गर्न पुगे । प्रधानमन्त्रीमा देउवा र ओली दुवैको दाबी परेपछि राष्ट्रपतिले विवेकसम्मत निर्णय लिनुपर्ने थियो। तर, उनले दुवैको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्विकार मात्रै गरिनन्, मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिदिइन्। पहिलो पटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सत्ता जोगाउन सफल बनेका ओलीले गरेको दोस्रो विघटनको प्रयासले उनलाई बालुवाटारबाट बालकोट फर्काइदिएको छ ।

ओलीका आफ्नै कदमले उनलाई सत्ताच्यूत बनायो । तत्कालीन नेकपा एक हुँदा करिब दुई तिहाइको बहुमत प्राप्त प्रधानमन्त्री रहेका ओलीलाई अन्तिम समयमा माधव नेपाल पक्षका मात्र होइन उनकै पक्षका सांसदहरुले पनि मरिसकेको डिंगोको शरीरबाट जुम्राले छोडे जसरी छोडिदएका छन् । यति भैसक्दा पनि ओलीको चेत फिरेको छैन । उनको आक्रोश र अहंकारलाई ओली गुटका अन्य नेताहरुले नतमस्तक भएर अनुमोदन गरिनैरहेका छन् ।

ओलीबाट सिक्नै नसकिने ५ कुरा
१. अशिष्ट र छुद्र भाषा संस्थागत
ओलीले नेपाली राजनीतिमा अशिष्ठ र छुद्र भाषामा आफूसँग अहसमतहरुलाई गाली गर्ने र हुर्मत लिने कुरालाई संस्थागत गरेका छन् । उनले विपक्षी वा आफ्नै पार्टीका समकक्षीमात्र होइन सर्वोच्च अदालतका न्यायमुर्तीहरुमाथि पनि विष बमन गरेर कीर्तिमान बनाएका छन् । तर उनलाई अरुलाई मिडियाले तपाईं नभनेकोमा रिस उठिरहन्छ ।

२. कानुन भन्दामाथि, सर्वमान्य र जान्य
डाक्टर बाबुराम भट्टराई ओलीलाई अहंकार र अल्पज्ञानको पुञ्ज भन्छन् । हुनपनि ओलीमा म भन्दा जान्ने कोही छैन भन्ने भाव निरन्तर व्यक्त हुने गरेको छ । हरेक कुरामा प्रवचन दिने र विज्ञहरुलाई पढाउने क्रम आजप्रयन्त जारी छ ।

३. सत्ता बहिर्गमनको शोभा यात्रा
बालुवाटारबाट दर्जनौं प्रधानमन्त्री विदा भएका छन् । तर केपी ओलीजस्तो अपमानजनकरुपमा बाहिरिएका थिएनन् । तर लज्जाजनक बहिर्गमनलाई उत्सव बनाउने प्रयास गर्दै ओली गुटका कार्यकर्तालाई स्कर्टिङ र उत्सव गरे । शवयात्रामा पञ्चेबाजाजस्तै गरिएको व्यवहार ओली एमालेको नयाँ अवतार हो ।

४. आफ्नै पार्टीका साथीको दाहसंस्कार
लज्जाजनक बहिर्गमनपछि ओलीलाई अब सबैसँग रिस उठेको छ । तर सबैभन्दा रिस उठेको छ । माधव नेपालसँग जसले उनलाई बालुवाटारबाट बालकोटको बाटो देखाइदिए । यही रिसमा ओली गुटको युवा संगठन युवा संघका कार्यकर्ताले सोमबार नेता नेपालको सांकेतिक दाहसंस्कार गरेका छन् । प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो । जिउँदो नेताको दाहसंस्कार गराउने ओली आदर्श विर्सन लायक छ ।

५. जस्तै गल्ती गर्दा पनि आफ्ना गुटका साथीको बचाँउ गर्ने
केपी गुट बचाउनका लागि राजनीतिक जीवनकै जोखिमयुक्त निर्णय लिन पनि पछि परेनन् । राष्ट्रपतिमा आफ्नै गुटकी विद्या भण्डारीलाई निर्वाचित गर्न सफल भएका उनले अवसर गुटबाट यताउता जान दिएनन् । ओलीसँग जति बदनाम भएपनि आफ्नो गुटको रक्षा र संरक्षण गर्ने लाजलाग्दो विरासत छ । बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेल हुन् वा ७० करोड घुसको टेपकाण्डमा मुछिएका गोकुल बाँस्कोटा । ओलीले कारवाही गरेनन् बरु पुरस्कृत गरे ।

खासमा पार्टीभित्र ओलीको अत्याचार खप्न नसकेकै कारण प्रचण्ड र नेपालले उनी अपदस्थ हुने स्थिति सिर्जना गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएका हुन्। ओलीबाट नेपाली राजनीतिले सिक्ने सकारात्मक कुरा करिव करिव अनुपस्थित छ । उनीबाट नकारात्मक पाठ सिक्नमात्र सकिन्छ ।

यो पनि हेर्नुस्-

प्रचण्ड-बाबुरामको भाषण र विप्लव सक्रियताको पटाक्षेपः जनयुद्धका सारथीहरु फेरि एक एजेण्डामा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्