जनादेश, हेटौंडा ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागार कोरोना संक्रमणग्रस्त भएको छ । कारागारको ब्लक ‘क’ र ब्लक ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
पुष्टि हुनेको संख्या कारागारका कैदीबन्दीको तीस प्रतिशत्भन्दा बढी हो । कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुवैलाई कोरोना पोजेटिभ देखिएको छ ।