बाबुराम भट्टराई पोखरामा, मुख्यमन्त्री र योजना अयोगका अधिकारीलाई यस्तो अर्ति – Janadesh Daily | ePaper

बाबुराम भट्टराई पोखरामा, मुख्यमन्त्री र योजना अयोगका अधिकारीलाई यस्तो अर्ति


जनादेश वाच ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला कास्कीको पोखरामा छन् । उनले पोखराका विभिन्न स्थानमा पुगेका तस्विरहरु सार्वजनिक गरिरहेका छन् ।

मंगलबार बाबुरामले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेट । मुख्यमन्त्री निवासमा भएको भेटमा प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उनले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए ।

प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि सङ्घ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । बाढीपहिराका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि सङ्घ सरकारको भर परेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले गठबन्धनलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले स-साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिए ।

बाबुरामले प्रदेश नीति/योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूसंग प्रदेशको विकास रणनीति तथा रूपान्तरणकारी योजना निर्माणवारे अर्थपूर्ण विमर्श गरेको जानकारी गराएका छन् । उनले क्रमिक विकास नीति अन्तरगत विछृंखलित योजना निर्माण सट्टा पूर्वऔद्योगिक अर्थतन्त्रको संरचनात्मक परिवर्तननिम्ति योजना बनाउन सुझाव दिएको पनि जनाएका छन् ।

नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान बाबुरामको सुझाव थियो । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोती रिजाल तथा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सहभागी थिए ।

बाबुरामले रातिको समयमा फेवाताल किनारमा पत्नी हिसिलासँग घुमेको तस्विर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्