नेपालबारे मिलियन डलरको निःशुल्क विज्ञापनः सद्‍गुरुले भने- नेपाल आउनूस्, स्वर्ग खोज्‍नु पर्दैन ! – Janadesh Daily | ePaper

नेपालबारे मिलियन डलरको निःशुल्क विज्ञापनः सद्‍गुरुले भने- नेपाल आउनूस्, स्वर्ग खोज्‍नु पर्दैन !


जनादेश वाच ।
कैलाश मानसरोवको भ्रमण सकेर काठमाडौं आएका सदगुरु जग्गी वासुदेवले शनिबार बत्तिसपुतलीको एक होटेलमा पत्रकार सम्मेलन गरे ।

प्रायः जीवन, जगतका कुरा बताउने सदगुरुले शनिबार भने पर्यटन क्षेलाई विशेष जोड दिए । देशको व्यापार व्यवसाय बलियो नबनेसम्म देश समृद्ध बन्न नसक्ने तर्क राखे । उनले नेपाल प्रकृति र संस्कृतिले धनी भएपनि आधुनिकीकरणका नाममा यहाँको पहिचान नै मेटिनसक्नेतर्फ सजग गराए ।

नेपालबारे निःशुल्क विज्ञापन
सद्गुरुले नेपाल प्राकृतिक सौन्दर्यले भरिएको भन्दै विश्व समुदायलाई नेपाल घुम्नका लागि आह्वान गरेका छन् । नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै अर्को स्वर्ग खोज्नु नपर्ने उनले बताए । हुम्लाको लिमी उपत्याका, तिप्ताला हुँदै कैलाश पर्वत र मानसरोवनको अवलोकन गरी काठमाडौँ आएका उनले नेपालले आगामी १० वर्षमा पर्यटनमा फड्को मार्नसक्ने बताए । चीन प्रवेश नगरिकनै नेपालकै मार्ग भएर मानसरोवर पुगेको यो पहिलो यात्रा समेत थियो ।

‘नेपालसँग प्रकृति र संस्कृति छ । नेपाल आउँदा मलाई मन र शरीरमा साकारात्मक उर्जा पैदा हुन्छ । त्यसैल म १५ वर्षदेखि लागातार आउँदैछु । नेपालको प्राकृतिले मानिसलाई आन्नदित बनाउँछन्, शान्ति प्रादन गर्छ । प्राकृतिक सुन्दरतालाई वर्णन गर्ने मसँग कुनै शब्द छैन’ सद्गुरुले भने ।

अरु मुलुक औद्योगिक, प्राविधिक रुपमा विकसित रहेको भन्दै उनले थपे, ‘नेपाल आध्यात्मिक, धार्मिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हामीले संसारको सबै मुलुकलाई औद्योगिक मुलुकको रुपमा विकास गरिराख्नु जरुरी छैन । साास्कृतिक, प्राकृतिक र पर्यटकीय मुलुक बनाउन पनि जरुरी छ । जुन सम्भावना नेपालसँग मात्रै छ ।’

नेपालको सौन्दर्यलाई नजिकबाट महसुश गर्नेलाई स्वर्ग गइराख्नु नपर्ने उनको भनाइ थियो । उनले भने ‘आँखा खोलेर हेर्नुस् नेपाल सुन्दर छ । नेपाललाई महसूश जसले गर्छ उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन । मलाई बेलायत, अमेरिका, युरोप त्यतिधेरै घुम्न मन पर्दैन जति नेपाल घुम्न मन पर्छ ।’

यस्तै नेपालले आफ्नो सौन्दर्य जोगाइराख्न सकेमा नेपालको सुन्दर भविष्य भएको उनले बताए । तर कुनै पनि राजनीतिक हस्तक्षेप विना नेपालको संस्कृति, आध्यात्मिक, धार्मिक र प्राकृतिक पक्षहरुको संरक्षण गर्नुपर्ने उनको सुझाव थियो । नेपालको हिमाली क्षेत्रसँगै पहाड पर्वतले पनि पर्यटकलाई आकर्षण गर्ने बताए । यहाँका बासिन्दा, संस्कृति, प्राकृतिक सुन्दरता र शान्तपूर्ण वातावरणले झनै उत्सुक बनाउने उनले बताए ।

उनले अघि थपेका छन् ‘सगरमाथाको विशेषता आफैँ ठूलो छ । तर, सबै सगरमाथा पुग्न कठिन हुन्छ । साना पहाड र पर्वतमा धेरै मान्छे जान सक्छन् । त्यसैले यसको विकास गर्नु पर्छ ।’ साहसिक पर्यटन वाहेकका पर्यटकलाई पनि नेपालले आकर्षित गर्नुपर्ने उनले बताए ।

समग्रमा नेपालको सांस्कृतिक, आध्यात्मिक, धार्मिक, प्राकृतिक आधारमा नेपालको पर्यटकीय विकास निकै महत्वपूर्ण रहेको उनले सुझाव दिए । ‘भारत भन्दा नेपालसँग परम्परागत संस्कृति छ । भक्तपुर प्राचिन सहर हो । यस्ता सहरहरु निर्माण गर्दै जानु पर्छ’ उनले भने । सगरमाथासँगै साना हिमालहरुलाई पनि प्रचार गरेर पर्यटक आकर्षित गर्नुपर्ने उनको धारणा थियो ।

सद्गुरुले भारतमा आधुनिकताले संस्कृति गुमाएको सन्दर्भ जोड्दै नेपालमा पनि त्यस्तै जोखिम रहेको भन्दै सचेत गराएका थिए । नेपालले संस्कृति नगुमाई विकासको बाटो समात्नुपर्ने बताएका थिए । उनले भनेका छन्, ‘म पहिला पनि काठमाडौँ आउन चाहन्थेँ । काठमाडौँ प्राचिन र देवताहरुको सहर हो । तर दूर्भाग्यवश काठमाडौँ अहिले सुकुम्बासी बस्ती जस्तै देखिन्छ । जनसंख्या र बासस्थान बढ्दैछ । योजनाविना विकास गरिएको सहरको यो मुख्य समस्या हो । सहरलाई व्यवस्थित र आधुनिक देखाउन चक्रपथ निर्माण गरिएको छ । अब हिमालयन क्षेत्रमा धार्मिक र पर्यटकीय सहरको स्थापना गर्दा योजनाबद्ध तरिकाले विकास गर्नु निकै महत्वपूर्ण छ । हैन भने प्राकृतिक विनास जुनसुकै बेला आउन सक्छ, यो जोखिम कायम नै छ ।

गतबर्षको श्रावणमा नेपाल हुँदै कैलास मानसरोवरको यात्राको क्रममा भदौ ४ गते काठमाडौं आएका सदगुरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका नेतालाई भेटेर नेपाल एउटा सुन्दर देश भएको बताएका थिए । सन् २०१७ मा भारत सरकारको पद्यविभूषण पुरस्कारबाट सम्मानित उनी एक आधुनिक गुरुका नाममा प्रख्यात छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्