कोरोनाकै बेला निपाह भाइरससँग किन डरायो सरकार, यसले के गराउन सक्छ, कसरी बँच्ने ! – Janadesh Daily | ePaper

कोरोनाकै बेला निपाह भाइरससँग किन डरायो सरकार, यसले के गराउन सक्छ, कसरी बँच्ने !


जनादेश वाच ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन्। निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो। यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ। यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ।

के हो निपाह भाइरस
विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एउटा भनेको छ । भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत छन् । चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम बढ्छ ।निपाह भाइरस मान्छेबाट मान्छेमा एक त छँदैछ अर्कोतिर यो भाइरस पाइने चमेरा नेपालमा पनि पाइन्छ । यस्तै भारतबाटै सुँगुर, बङ्गुर यहाँ आयात गरिने हुँदा यो भाइरसको सङ्क्रमणको जोखिम धेरै छ । सरकारले निपाह भाइरस सङ्क्रमणको जोखिम बढ्न सक्ने भनेको छ तर यस भाइरस बारेमा अध्ययन अनुसन्धान भने थालिएको छैन ।

यो रोग लागेमा के हुन्छ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।

चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ । निपाह भाइरसको सङ्क्रमण पहिलो पटक सन् १९९९ मा सिङ्गापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो । त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।

लक्षण
मान्छेमा निपाह भाइरसको सङ्क्रमण भएमा यस्ता लक्षण देखिन्छन् । साता दस दिनपछि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, स्मरण शक्तिमा कमी र मस्तिष्क सुनिने जस्ता लक्षण देखापर्छन् ।

यसको औषधि छ कि छैन ?
निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । यो भाइरसबाट रोग लागेका मध्ये ७० प्रतिशत मानिसको मृत्यु हुनेगरेको पाइन्छ ।

निपाह भाइरसबाट कसरी जागिने ?
निपाह भाइरसको सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । निपाह भाइरस भएका बिरामीको स्याहार सम्भार तथा हेरचाह गरेपछि राम्रोसँग साबुनपानीले हात सफा गर्नुपर्छ ।
–बङ्गुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने ।
–चमेराले जुठो हालेका फलफूल खानु हुँदैन ।
–फलफूल राम्रोसँग पखालेर मात्रै खाने ।
–गाईवस्तुको गोठ र फार्म सफा राख्ने ।
–मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने ।
–सकेसम्म पानी उमालेर मात्रै पिउने ।
–बेलाबेलामा साबुन पानीले हात धुने ।
–भीडभाडमा जाँदा मास्क लगाउने ।
–निपा भाइरसको लक्षणको जस्तो देखिएमा सङ्क्रमण भएको हो कि होइन भनेर प्रयोगशालामा पीसीआर वा एलैजा विधिको प्रयोग गरेर रगत, पिसाब, नाक, कान र घाँटीको परीक्षण गराउने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्