भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल     – Janadesh Daily | ePaper

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल    


काठमाडौँ ।

भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार हिम्ड टर्मिनल प्रालिले सातामा दुई दिन कार्गाे ढुवानी गर्ने जनाएको छ भने हिम्डसगैँ अन्य चार कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखाएका छन् । उहाँले भन्नुभयो, “पहिलो पटक हिम्डले कार्गाे रेल सेवा सुचारु गरेको छ । सो कार्गाेसँगै अन्य ४ कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखिएका छन् । निजी क्षेत्रका कार्गाे रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनी बढ्ने अनुमान छ ।”

रेल सेवा संशोधनपछि निजी कार्गाे    

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो ।

रेल सेवा संशोधनको करिब दुई महिना पश्चात पहिलो पटक निजी कार्गाे रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो । गत असार २५ गते रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।

नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷ हल्दियासम्म रेल सेवा दिनसक्ने गरी सम्झौता संशोधन गरिएको थियो । यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्