कांग्रेसभित्र फेरि विद्रोहः ‘डडेलधुरा अधिवेशन मान्दैनौँ, पार्टी कब्जा गर्न खोजे चुप बस्दनौँ’ – Janadesh Daily | ePaper

कांग्रेसभित्र फेरि विद्रोहः ‘डडेलधुरा अधिवेशन मान्दैनौँ, पार्टी कब्जा गर्न खोजे चुप बस्दनौँ’


जनादेश वाच ।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको एकलौटीमाथि नेताहरुले धावा बोलेका छन् । वडा अधिवेशनमा समेत पेलेर जान खोजेको भन्दै केही नेताहरुले सभापतिविरुद्ध विद्रोहको आवाज उठाएका हुन् ।

विहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र निर्वाचन समितिबीच बिहीबार भएको बैठकमा चर्काचर्की परेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा भएको वडा अधिवेशन पुनः गराउन माग गर्दै ध्यानाकर्षण गराउन पुगेको पौडेल समूहले निर्वाचन समिति संयोजक महादेव यादवमाथि प्रश्न उठाएको थियो ।

बैठकमा सहभागी एक नेताकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले बहुमत सदस्यले बहिस्कार गरेको डडेलधुरा अधिवेशन पुनः गराउन माग गरेका थिए । उनीहरूले निरंकुश ढङ्गले पेलेर गरेको अधिवेशन पुनः नभए पार्टी गम्भीर संकटमा पुग्ने भन्दै आक्रोश पोखे ।

“हामी ध्यानाकर्षण गराउन पुग्दा सुरुमै उहाँ नकारात्मक देखिनुभयो,” ती नेताले भने, “उठेका प्रश्नको घुमाउरो जवाफ संयोजकज्यूले दिएपछि नेताहरू आक्रोशित हुनुभयो ।”

निर्वाचन समितिसमक्ष नेता अर्जुननरसिंह केसीले नुवाकोटको विषय उठान गरेका थिए । यता, वरिष्ठ नेता पौडेलले डडेलधुरासहित सम्पूर्ण जिल्लाको विषयमा निर्वाचन समितिले गलत कदम उठाए पार्टी संकटमा पर्ने धारणा राखेका थिए ।

बैठकमा सहभागी अर्का नेता शेखर कोइरालाले कसैले पार्टी कब्जा गर्न खोजे कोहीपनि चुप लागेर नबस्ने भन्दै आक्रोशित भएका थिए ।

निर्वाचन समिति संयोजक यादवतर्फ इङ्गित गर्दै नेता कोइरालाले पार्टीको अधिवेशन विधानसम्मत हुनुपर्ने धारणा राखे । ती नेताकाअनुसार आक्रोशित मुद्रामा नेता कोइरालाले निर्वाचन समितिका गल्तीका कारण पार्टी गम्भीर संकटमा पर्नसक्ने चेतावनी दिए ।

“तपाईंहरूले सोच्नुभएको छैन होला, तपाईंहरूको सानो गल्तीका कारण पार्टी गम्भीर संकटमा पर्न सक्छ,” उनले भनेका थिए, “गैरसंवैधानिक, गैरकानुनी ढंगले मान्छे पठएर पार्टी कब्जा गर्ने हो भने कोही पनि चुप लागेर बस्दैन ।”

निर्वाचन समिति संयोजक यादवले आफूहरूले डडेलधुराका विषयमा अध्ययन नगरी कुनै निर्णय दिन नसक्ने बताएको जानकारी दिए । “सहभागिता र प्रक्रियासंगत छ भने बदर हुँदैन, बदर गर्ने परिस्थिति आयो भने बदर हुन्छ । तर, अहिले यसै भन्न सक्दैनौँ, अध्ययन गरेपछि मात्र निर्णय गर्छौँ भनेर बैठकमा मैले बोलेको छुँ,” उनले भने ।

पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ । बिहीबार केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई भेटेर समेत त्यसबारे ध्यानाकर्षण गराएको हो ।

वरिष्ठ नेता पौडेल महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला, मिनेन्द्र रिजाललगायत नेताहरु निर्वाचन समितिसँग छलफल गर्न केन्द्रीय कार्यालय पुगेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्