असन्तुष्ट भनिएका बाबुरामले देउवा, प्रचण्ड र नेपाललाई भेटेर दिएको सुझाव के हो, यस्ता छन् ५ बुँदा – Janadesh Daily | ePaper

असन्तुष्ट भनिएका बाबुरामले देउवा, प्रचण्ड र नेपाललाई भेटेर दिएको सुझाव के हो, यस्ता छन् ५ बुँदा


जनादेश वाच ।

सत्ता गठबन्धनमा असन्तुष्ट रहेको भनिएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले विहीबार प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका हुन्।

बिहीबार तीनै जना नेताहरुको निवासमै गएर भेटेका भट्टराईले वर्तमान राजनीतिक अवस्थाको निकासका लागि विभिन्न ५ वटा सुझाव दिएका उनको सचिवालयले जानकारी दिएको छ।

भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशको विषयलाई छिटो छिनोफानो गरेर सरकारलाई तत्काल पूर्णता दिनुपर्ने सुझाव दिएका छन्।

यस्तै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौताका विषयमा राष्ट्रिय सहमति कायम गरी पारित गर्ने सुझाव पनि भट्टराईले दिएका छन्।

भट्टराईले संसदमा जारी अवरोध खुलाउन र बजेट पास गराउने वातावरण बनाउन प्रतिपक्षी दलसँग छलफल गर्ने, गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन्।

यस्तै, जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने विषयमा पनि भट्टराईले सुझाव दिएका जनाइएको छ।

केही दिन अघि मात्र बाबुरामले सामाजिक सञ्जालमार्फत राजा गए पनि, ओली गए पनि कुर्सीको खेल भने जारी रहेको टिप्पणी गरेका थिए । साथै उनले वैकल्पिक शक्तिको खोजी जारी रहेको उद्घोष पनि गरेका थिए ।

‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ। भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ। कमिसनखोरको खेलो जारी छ। छिमेकीको हैकम जारी छ। जयसिंह धामीको बेपत्ता जारी छ। छाउपडी जारी छ। छोइछिटो जारी छ। मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ। श्रमिकको चुलो खाली छ,’ उनले लेखेका थिए, ‘अतः वैकल्पिक शक्तिको खोजी जारी छ।’

बाबुराम भट्टराईले समय समयमा सत्ता गठबन्धनप्रति नै असन्तुष्टि सार्वजनिक गर्नुलाई अर्थपूर्ण मान्ने गरिएको छ । ‘कुर्सीको खेल जारी’ भनेर उनले सरकारभित्रका गतिविधिप्रति असहमति जाहेर गरेको जानकारहरु बताउँछन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्