लीलामणि पौडेल माओवादी प्रवेशको संकेत, गुल्मीको राजनीतिमा यसरी फेरिन सक्छ समीकरण – Janadesh Daily | ePaper

लीलामणि पौडेल माओवादी प्रवेशको संकेत, गुल्मीको राजनीतिमा यसरी फेरिन सक्छ समीकरण


जनादेश विशेष वाच ।

पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल विस्तारै नेकपा माओवादी केन्द्रको राजनीतिका सक्रिय हुने संकेत गरेका छन् ।

पार्टी प्रवेश नगरिसकेका भएपनि उनले माओवादीका जिल्ला स्तरीय कार्यक्रममा प्रशिक्षण दिने गरेका छन् ।

हालै गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ गुल्मीमा माओवादी केन्द्र र वाईसीएलको वडा भेलामा पौडेल सहभागी भएर उनले गरेको भाषणले गुल्मीमा मात्र होइन देशभर तरंग ल्याएको छ । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले भेलामा सहभागी माओवादी र वाईसीएलका कार्यकर्तालाई उनले विभिन्न निर्देशन दिएका थिए ।

माओवादी नै वास्तविक रूपान्तरणकारी शक्ति
पूर्वमुख्यसचिव पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको प्रशिक्षणका क्रममा बताएका थिए । एमाले र माओवादी उस्तै हुन् भन्ने भ्रम चिर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

उनले प्रशिक्षणका क्रममा भनेका छन्, ‘यो व्यवस्था कसले ल्याएको हो ? यो व्यवस्थाको वकालत गर्ने को हो रु स्थापित गर्ने को हो रु समाज रुपान्तरण भनेको त त्यो हो नि । हिजो समाजमा जुन किसिमले पछाडि परेको वर्ग समुदाय थियो । जाति थियो । त्यसलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाउने शक्ति माओवादी केन्द्र हो । लड्यो, लडेर स्थापित गर्यो । संविधानमा, कानूनमा, राज्य प्रणालीमा, व्यवस्थामा । त्यसकारण त तपाईंहरु प्रतिनिधि भइराख्नुभएको छ ।’

लीलामणिले अहिलेको व्यवस्था र संविधानको मूल्य वाहक माओवादी भएको भन्दै त्यसका योगदानका चर्चा बढाउनुपर्ने बताएका छन् ।

समावेशीमा माओवादीले ल्याएको क्रान्तिलाई उल्लेख गर्दै उनले प्रशिक्षणमा भनेका थिए, ‘हिजो त त्यो थिएन । अधिकारका रुपमा थिएन । भलै कोही नियुक्त भएका थिए । तर त्यो अधिकार स्थापित गर्ने काम माओवादीले गर्‍यो । त्यसकारण माओवादी वामपन्थी शक्ति पनि हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो । तपाईंहरुलाई लाग्ला सबै उस्तै–उस्तै हुन् । एमाले र माओवादी भन्या उस्तै हुन् । यता गए पनि हुन्छ, उता गए पनि हुन्छ । होइन । आधारभूतरुपमा फरक छ । एजेन्डा बोक्ने विषयमा परक छ । राज्य प्रणालीको वकालत गर्ने कुरामा फरक छ ।’

हेर्नुस् भिडियोः

भेलाले तारा रानाको अध्यक्षतामा माओवादी केन्द्रको २९ सदस्यिय वडा समिति र दुर्गा पुरीको अध्यक्षतामा वाइसीएलको २९ सदस्यीय वडा समिति गठन गरेको छ ।

सदस्यता लिएको छैन, राम्रा कामको प्रचारः लीलामणि
पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताए । गुल्मी जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको तर नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका हुन् । विषयगत क्षेत्रमा पार्टीहरूले बोलाउँदा अस्वीकार नगर्ने गरेको भन्दै जिल्लामा माओवादीको कार्यक्रममा उपस्थित भएको बताए ।

सफल प्रशासक, सम्भावना बोकेका राजनीतिज्ञ
लीलामणि पौड्यालले प्रशासक हुँदा सेवाग्राही मैत्री नीति बनाउन, विकृति र बेथिति घटाउन, हेलो सरकारलाई प्रभावकारी बनाउन, किसान तथा उत्पादकका समस्या समाधानमा पहल गर्न तथा बागमती सफाइ महाअभियान सुरुवात गरी सफाइ जागरण सञ्चालन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पूर्वमुख्यसचिव पौडेल माओवादीसँग पहिल्यैदेखि निकट मानिए पनि खुलेका थिएनन् । उनलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा मुख्यसचिव बनाइएको थियो । यस्तै प्रचण्ड नेतृत्वको सरकारका पालामा उनी चीनका राजदूत नियुक्त भएका थिए । तर सफल मानिएका राजदूत पौडेललाई केपी ओली नेतृत्वको एमाले सरकारले कार्यकाल सकिनै लागेको बेला अपमान गर्दै फिर्ता बोलाएको थियो ।

गुल्मीमा उनको क्षेत्रमा एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी जस्ता चर्चित नेताहरू छन् । तर लीलामणिको राजनीतिमा प्रवेशले दुवै नेतालाई ठूलो चुनौति हुने निश्चित छ । उनी माओवादीको उम्मेद्वार बन्ने र चुनावी तालमेल हुने अवस्था आएमा लीलामणि संघीय सांसदमा चुनिने सम्भावना धेरै रहेको गुल्मीको राजनीतिका जानकारहरु बताउँछन् । कर्मचारीहरूका लागि आदर्श पात्र भएका कारण उनलाई कर्मचारी तन्त्रले समेत समर्थन गर्ने देखिन्छ । गुल्मी क्षेत्र नम्बर १ मा माओवादीका सिनियर नेताको खडेरी रहेको बेला लीलामणिको माओवादी राजनीति प्रवेश गर्ने संकेतले त्यहाँको राजनीतिक समीकरण नै फेरिन सक्ने समेत देखिएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्