पाल्पाका किसान केरा खेतीतर्फ आकर्षित – Janadesh Daily | ePaper

पाल्पाका किसान केरा खेतीतर्फ आकर्षित


सुशीला रेग्मी ,

केरा बिक्रीबाट नै मासिक ५० हजार ...

रामपुर । पाल्पाका किसान अन्नबालीभन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा केराका बिरुवा लगाउन थालेका छन् ।

केरा खेतीतर्फ आकर्षित गर्नका लागि प्रदेश सरकारले पाल्पामा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत अनुदान कार्यक्रम ल्याएपछि किसानले खेतबारी र बाँझो जमीनमा केरा लगाएर हराभरा बनाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । जिल्लाको रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाको ज्यामिरे क्षेत्रमा व्यावसायिक रुपमा नै केरा खेती गरिएको छ । बगनासकाली गाउँपालिका–६ शिखरडाँडामा ओम कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओम पचभैयाले २० रोपनी क्षेत्रफलमा केरा लगाउनुभएको छ ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले केराखेतीतर्फ आकर्षित भएको किसानको भनाइ छ । किसानका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा विस्तारै केरा खेती विस्तार गर्दै लगिएको छ ।

केरा खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यकता नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर केराखेतीतर्फ लागेको किसानले बताएका छन् ।

अन्नबालीको तुलनामा किसानमा केरा खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । केरा खेती विस्तार तथा प्रवद्र्धनका लागि कृषि ज्ञानकेन्द्र पाल्पाले आव २०७६÷७७ मा ५० प्रतिशत अनुदानमा रु एक लाखको एक हजार ६०० ‘जि नाइन’ जातको केराको बिरुवा, युरिया, पोटास तथा प्राङ्गारिक मल सहयोग गरेको छ ।

रामपुर नगरपालिका–६ मा सञ्चालित रामपुर केरा पकेट क्षेत्र समितिलाई २०७६÷७७ मा ५० प्रतिशत अनुदानमा पाँच वटा हाते ट्याक्टर, जि नाइन जातको ९भाइरसजन्य रोगबाट मुक्त० तीन हजार केराका बिरुवा, युरिया, पोटास, प्राङ्गारिक मल उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केरा पकेट क्षेत्रका रुपमा रामपुर चिनाउने र यसैबाट प्रशस्त आयस्रोत लिन सकिने हुँदा पकेट क्षेत्र विस्तारमा लागेको समितिका अध्यक्ष लोकनाथ ढकालले बताउनुभयो । उहाँले धान मकै गहुँ राम्रै उत्पादन हुने करिब नौ रोपनी जग्गामा मालभोग, जि नाइन र उइलियम जातको ९०० बोट केरा लगाउनुभएको छ । केराको खेतीका लागि राम्रो सम्भावना बोकेको हुँदा रामपुर नगरपालिका क्षेत्रका किसानले अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी गर्न सक्ने कृषि शाखा प्रमुख रामहरि पाण्डले बताउनुभयो । रामपुर नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा केरा खेती गरिएको छ । व्यावसायिक रुपमा यहाँका २५ कृषकले केरा लगाएका छन् ।

यो क्षेत्रका लागि उत्तम मानिएको जी नाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् । फालिएका जग्गा सदुपयोगमा आउने हँुदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तबरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केरा खेती सम्बन्धमा स्थलगत रुपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् ।

जिल्लामा केरा खेती गरिने ६७ हेक्टर जमीनमध्ये हाल उत्पादनशिल ५७ हेक्टर जमीनमा केरा लगाइँदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रुपमा यहाँ ८७० मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।

बाँझो रहेका जग्गा सदुपयोग हुने, बजारमा केराको माग बढ्न थालेपछि कृषकले व्यावसायिक तबरबाट केरा खेती शुरु गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । केरा पकेट क्षेत्रका लागि कम्तीमा २०० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्नेछ ।

केराका लागि व्यावसायिक सम्भावना जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिका–१ को हुँगी क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्