बाढीपहिराले कृषिमा नौ करोड क्षति    – Janadesh Daily | ePaper

बाढीपहिराले कृषिमा नौ करोड क्षति   


तनहुँ ।

गत असार २९ गतेदेखि निरन्तर परेको वर्षापछि आएको बाढीपहिराले तनहुँको कृषि क्षेत्रमा करीब रु नौ करोड बराबरको क्षति भएको छ । वर्षा पछिको बाढीपहिराले जिल्लाका विभिन्न भागमा छ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाइएको धान खेतीमा बढी पुगेको छ । त्यस्तै व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि बाढीपहिराले क्षति पुगेको केन्द्रले जनाएको छ । खोलाले कटान गरेको र बगरले पुरेर करीब रु नौ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

बाढीले बगाएको कतिपय स्थानमा किसानले बाढी पन्छाएर पुनः रोपाइँ शुरु गरेका छन् । रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने निश्चित छ । ढिलै भए पनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न कृषकलाई सुझाव दिइएको छ । स्थानीय सरकारले बालीनालीमा हुने क्षति व्यहोर्नलाई बजेट विनियोजन गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । प्रदेश र सङ्घीय सरकारले भन्दा स्थानीय सरकारले तत्काल राहत दिन सक्ने उहाँले बताउनुभयो ।

स्थानीय तहले बाढीपहिराबाट किसानलाई भएको क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढी र पहिराका कारण बगरमा परिणत भएका खेतलाई बन्दीपुर गाउँपालिकाले भने प्रतिरोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बाढीले बगर भएका खेतलाई अनुगमन गरेपछि क्षतिपूर्ति दिइने जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिका–६ छिर्दीबँेसीका हरिबहादुर थापाले वर्षभरलाई खान पुग्ने गरी रोपेको धान बाढीले बगाएको बताउनुभयो । “सगोलमा बसेका चार भाइ मिलेर करीब २५ रोपनी खेतमा रोपेको धान असार अन्तिम साता परेको अविरल वर्षासँगै म्याग्दे र छिर्दीखोलामा आएको बाढीपहिराले बगाइदियो”, उहाँले गुनासो गर्नुभयो ।

उहाँका अनुसार १५ रोपनी खेत पुरेको छ । १० रोपनी जतिमा खोलाले कटान गरेको छ । “हिलोले पुरेको खेतमा खनजोत गरेर फेरि रोप्याँै । बगरले पुरेको खेत यसपालि रोप्ने सम्भावना छैन्”, उहाँले भन्नुभयो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ओमबहादुर केसीले साढे दुई रोपनी खेतमा रोपेको धान बाढीले बगाएको जानकारी दिनुभयो । “खेतमा अझै पनि खोला बगिरहेको छ, बराहाखोला पसेर साढे दुई रोपनी खेतमा रोपेको धानको रोपो नै बगायो,” उहाँले भन्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्