के हो ई–सिगरेट ? – Janadesh Daily | ePaper

के हो ई–सिगरेट ?


युवा पुस्तामा अहिले ई–सिगरेट सेवन गर्ने लहर चल्न थालेको छ । नेपालजस्ता देशमा यो चलन भर्खरै शुरु हुन थालेको भए तापनि विकसित देशमा यसको सेवन गर्ने युवाहरुको जमात ठूलै भइसकेको छ । एक अध्ययनअनुसार सन् २०१९ मा अमेरिकाका हाइस्कुल पढ्ने विद्यार्थीमध्ये २७.५ प्रतिशतले ई–सिगरेट सेवन गर्ने गरेको पाइएको थियो । साथै पहिले चुरोट सेवन गर्ने धेरै वयष्कहरु अहिले ई–चुरोटतिर आकर्षित हुन थालेका छन् । यसको मुख्य कारण ई–चुरोटले स्वास्थ्यमा हानि गर्दैन भन्ने भ्रम नै हो ।

ई–सिगरेट धेरै प्रकारका छन् । यसलाई इलेक्ट्रोनिक निकोटिन डेलिभरी सिस्टम (ENDS) पनि भनिन्छ । धेरैलाई यसमा निकोटिन हुँदैन भन्ने गलत विश्वास छ तर यसले अविश्वसनीय रुपमा हानिकारक निकोटिन निष्कासन गर्छ । यसमा निकोटिनका साथै अरु हानिकारक वस्तुहरु पनि हुन्छन्, जसले सेवनकर्ता र त्यसको आसपास रहेका निष्क्रिय धूमपानकर्तालाई पनि असर गर्छ । यो सिगरेट वा ई–सिगार, ई–पाइप वा हुक्का आदिको रुपमा पाइन्छ । कतिपय उत्पादकहरुले यस्ता ई–सिगरेट, सिगार वा पाइप निकोटिन फ्री हो भनेर दाबी पनि गरेका हुन्छन् । उपभोक्ता यसकै विश्वासमा पर्छन् ।

अनुसन्धानहरुबाट यी उत्पादनहरु स्वास्थ्यको लागि सुरक्षित नभएको र हानिकारक भएको पाइएको छ । विशेष गरी यी वस्तु केटाकेटी तथा किशोर–किशोरीहरुका लागि निकै हानिकारक भएको पाइएको छ । निकोटिन लत लाग्ने खालको वस्तु हो । २० वर्षभन्दा कम उमेरका किशोर–किशोरीहरुमा यसले बिर्सन नसक्ने खालको अनुभव गराउँछ । यस उमेरमा परेको प्रभाव धेरै लामो समयसम्म रहिरहन्छ र उनीहरुको मस्तिष्कको विकासमा क्षति पुर्‍याउँछ । ई–सिगरेट सेवन गर्न थालेपछि लतको रुपमा रहिरहने खतरा अत्यधिक हुन्छ । यसको प्रयोगले मुटुरोग तथा फोक्सो रोग हुने सम्भावना धेरै हुन्छ । गर्भवती महिलाले सेवन गरेमा यसले गर्भको शिशुलाई निकै असर गर्छ । सेन्टर फर डिजिज कन्ट्रोलले गरेको अध्ययनअनुसार ई–सिगरेट वा हुक्का फोक्सोलाई क्षति पुर्‍याउने कारक तत्व हुन् । त्यसैले ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छ । ई–सिगरेटमा निकोटिन, फोक्सोलाई हानि गर्ने खालको बास्नादार केमिकल, क्यान्सर गराउने केमिकल, गह्रौं धातुहरु जस्तो– निकेल, टिन, लिड आदि तत्वहरु हुन्छन् । तर उपभोक्ताले त्यसमा के–के छ भनेर सहजै थाहा पाउन सक्तैनन् ।

ई–सिगरेट नयाँ उत्पादन भएकाले वैज्ञानिकहरु यसको असरका बारेमा अझै अध्ययन गरिरहेका छन् तर अहिलेसम्म प्राप्त प्रमाणका आधारमा भन्नुपर्दा निकोटिन उच्च लत लाग्ने वस्तु हो । विशेष गरी यसले किशोर–किशोरीको दिमागको विकासमा हानि पुर्‍याउन सक्छ । गर्भमा रहेको भ्रूणका लागि त ई–सिगरेट विष नै हो । त्यसले गर्दा गर्भवतीले यसको सेवन कहिल्यै गर्नुहुँदैन । स्वास्थ्यको दृष्टिले ई–सिगरेट हानिकारक भएकाले सकेसम्म कसैले पनि सेवन नगर्नु नै उत्तम हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्