टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दो    – Janadesh Daily | ePaper

टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दो   


सानेबहादुर नेपाली,    

तनहुँ । व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरु टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका हिलेखर्कका ६२ किसान व्यावसायिक रुपमा टिमुरखेतीमा संलग्न भएका छन् । उक्त क्षेत्रमा अहिले २०० रोपनी क्षेत्रफलमा करिब २० हजार टिमुरका बिरुवा लगाएका छन् । त्यसक्षेत्रमा रहेका ६२ घरधुरी मिलेर सबैले आ–आफ्नो क्षमताअनुरुप टिमुरखेती गरेको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

पच्चीस जनाको समूह गठन गरी व्यावसायिक रुपमा टिमुरखेती अघि बढाएको उहाँले जानकारी दिनुभयो । तीन÷चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि गत वर्षदेखि व्यावसायिकरुपमा खेती लगाउन थालेका हुन् । डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले ढुवानी गरेर लगेका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुखखेती गरिएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “कम्तीमा पनि दुई÷३०० बिरुवा लगाएका छन् ।”

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । तर विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ । हिलेखर्क टिमुरखेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुरखेती गरेको समूहका सचिव युवराज गुरुङले बताउनुभयो ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि त्यसक्षेत्रमा अभियानकैरुपमा टिमुर खेती थालिएको छ । स्थानीयवासी जीतबहादुर गुरुङले करिब एक हजार ५०० टिमुरका बिरुवा लगाएको बताउनुभयो । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उहाँले जानकारी दिनुभयो ।

टिमुरको बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरेर बिरुवा खरिद गरी ल्याएर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

जडीबुटी कार्यक्रमअन्तर्गत यस वर्ष पनि हिलेखर्क क्षेत्रमा टिमुरखेतीको बिस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको अन्य उपयुक्त स्थानमा पनि टिमुरखेतीका लागि पहल गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । टिमुरको माग अत्यधिकमात्रामा रहेकाले टिमुरखेतीको भविष्य राम्रो देखिएको उहाँले बताउनुभयो ।

हिलेखर्क घरबासको नाउँले प्रसिद्ध मानिन्छ । पछिल्लो समय कृषि क्षेत्रमा समेत पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको स्थानीयवासी बताउँछन् । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीका लागि चासो देखाउन थालेको बताइएको छ ।

औषधिजन्यमा प्रयोग    

टिमुर प्रायजसो अचारमा छोपका रुपमा प्रयोग गरिँदै आए पनि यसको महत्व कमैले बुझ्ने गरेका छन् । टिमुर औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढी रहेको पाइन्छ । टिमुरलाई पेलेर निकालेको तेल र छोक्रा दुवै औषधिका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख बरालले बताउनुभयो ।

टिमुरलाई धेरै औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढिरहेको छ । परिपक्क टिमुरको एक बोटबाट करिब पाँच किलोसम्म टिमुर उत्पादन हुन्छ । टिमुरको मूल्य अहिलेको बजार भाउअनुरुप प्रतिकिलो रु सातदेखि ९०० सम्म बिक्री गर्ने गरेको छ ।

बिक्रीमा समस्या छैन  

टिमुर उत्पादनपछि बिक्रीका लागि बजारको कुनै किसिमको समस्या नरहने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । नेपालमा करिब २० प्रतिशत टिमुर उत्पादन हुने र अन्यत्रबाटै आयात भएमात्रै उपभोग गर्न सकिने बाध्यता रहिआएको छ । स्थानीय बजारदेखि अन्तरराष्ट्रिय बजारसम्म टिमुरको माग अत्यधिक रहेको छ । उत्पादन गरिएको टिमुर बिक्रीका लागि कुनै समस्या छैन । उहाँले भन्नुभयो, “टिमुर बहुउपयोगी वस्तु भएकाले जति उत्पादन गरे पनि सहजरुपमा खपत हुन्छ ।”   रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्