टेलिकमले पायो फाइभजी परीक्षणको स्वीकृति – Janadesh Daily | ePaper

टेलिकमले पायो फाइभजी परीक्षणको स्वीकृति


टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

जनादेश, काठमाडौँ । नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ । टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्राधिकरण बोर्डले परीक्षणको अन्तिम स्वीकृति दिनुपूर्व नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरेको थियो । समितिको निर्णयपछि प्राधिकरणले गत साउनमा ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ जारी गर्दै कानुनी बाटो खुला गरेको थियो । कार्यविधिमा फाइभजी परीक्षणका प्रावधान उल्लेख गरिएको छ । जसअनुसार परीक्षणको अनुमति पाउने दूरसञ्चार सेवा प्रदायकले एक वर्षसम्मका लागि दस्तुर छुटमा फ्रिक्वेन्सी पाउनेछन् र उक्त समयपछि फ्रिक्वेन्सी र प्रयोग गरिएका उपकरण प्राधिकरणलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरण बोर्डले टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उक्त फ्रिक्वेन्सी टेलिकमले परीक्षण अवधि सकिएपछि भने प्राधिकरणलाई नै फिर्ता गर्नुपर्नेछ । बोर्डको निर्णयसहितको पत्र प्राधिकरणले टेलिकमलाई दिएपछि फाइभजी परीक्षणको तयारी थाल्नुपर्नेछ । टेलिकमले यसअघि काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्