एमालेले भन्योः प्रचण्ड व्यस्त भएर आउनु भएन, लीलामणि पोखरेलले गरे दादमार भाषण – Janadesh Daily | ePaper

एमालेले भन्योः प्रचण्ड व्यस्त भएर आउनु भएन, लीलामणि पोखरेलले गरे दादमार भाषण


जनादेश, काठमाडौँ ।

एमालेको दसौँ महाधिवेशनमा सबै दलका प्रमुखहरुलाई आमन्त्रण गरिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी एमालेका सचिव प्रदीप ज्ञवालीले सहभागीहरुलाई गराएका छन्।

कार्यक्रमको उद्घाटनपछि राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन्। कार्यव्यस्तताले अध्यक्ष दाहाल आउन नसकेपछि माओवादीका तर्फबाट कार्यक्रममा सहभागी हुन आफू आएको जानकारी नेता लीलामणि पोखरेलले दिए। पोखरेलको दमदार भाषण नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने बताएका छन् ।

एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’

आफूहरू केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे । नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए ।

कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ । एकता, सङ्घर्ष र सहकार्य संस्कृतिको साझा प्रयासमा सबै रहने हो भने मुलुकको विकासले कोल्टे फेर्ने उनले बताए । राष्ट्रिय स्वाधीनता र विकासमा सहकार्यको खाँचो औँल्याउँदै उनले आज नयाँ चुनौतीको सामना गर्दै नयाँ सम्भावना बोकिरहेको अवस्थामा कम्युनिस्ट आन्दोलन रहेको बताए । कार्यक्रममा सहभागी नेपाली नेताहरुले शुक्रबार शुभकामना दिने कार्यक्रम छ भने विदेशी नेताहरुले शनिबार बन्द सत्रमा शुभकामना दिने जानकारी कार्यक्रम सञ्चालक ज्ञवालीले दिए। नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका थिएनन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्