नारायणी किनारमा एमालेको झाँकीः ‌ओलीको दम्भ झनै उक्लिँदै, आफ्नै बखान र प्रशंसामा सकियो समय – Janadesh Daily | ePaper

नारायणी किनारमा एमालेको झाँकीः ‌ओलीको दम्भ झनै उक्लिँदै, आफ्नै बखान र प्रशंसामा सकियो समय



जनादेश, काठमाडौँ । १० औं महाधिवेशन उद्घाटन सत्रमा एमालेले अझै पनि अध्यक्ष केपी ओलीको दम्भ नघटेको झल्को दिएको छ । चितवनको नारायणी नदीमा शुक्रबार पार्टीको दसौं महाधिवेशन उद्घाटन समारोहमा एमालेका नेताहरूले गरेको आत्मप्रशंसाले उनीहरुले पार्टी विभाजनको पीडाबारे कुनै समीक्षा नगरेको जस्तो लाग्थ्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू उपप्रधानमन्त्री र प्रधानमन्त्री भएका बखत गरेका कामको बखान गरेन्। समारोहमा सम्बोधन गर्दै ओलीले आफू सत्तामा रहँदा गरेका कामको बखान गरेका हुन्।

ओलीले फेरि राष्ट्रियताको एजेन्डा चर्काएर त्यसकै बलमा आगामी निर्वाचन जित्ने रणनीति सार्वजनिक गरेका छन्। राष्ट्रियताको मुद्दाकै बलमा फेरि सरकारमा फर्किने संकेत उनले गरेका छन्।

उनले आफू उपप्रधानमन्त्री भएका बेला भुटानी शरणार्थीलाई अमेरिका पठाउने काम गरेको दाबी गरे। ओलीले भने, ‘ती भुटानीहरू आज अमेरिका पुगेर चिल्ला गाडी चढेका छन्। राम्रा विद्यालयमा छोराछोरी पढाएका छन्। हामी जहाँ पुग्छौँ त्यहाँ परिवर्तन भएको छ।’

यस्तै ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन हटाएको दाबी गरे। उनले भने, ‘मैले तुइन विस्थापन गरें। पहिले त्रिशूलीमा जतातनै तुइन थिए। अहिले एउटै छैन।’ यस्तै उनले आफूले सुरुङ युगको सुरु गरेको पनि बताए। ओलीले भने, ‘हामी अब सूचना प्रविधि र विज्ञानका क्षेत्रमा विकास गर्छौं।’

‘म प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म स्याटेलाइटको मार्ग अर्कैले ओगटेको रहेछ। मेरो सरकारले त्यो मार्ग हाम्रो नाममा ल्याएको छ।’
उनले चीनसँग पारवहन सन्धि गरी नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा पुर्‍याएको बताए। उनले भने, ‘हामी समुद्रमा पुगिहालेका छैनौं।’ यस्तै उनले धतीको अर्बिट छेडेर सानो भए पनि अन्तरिक्षमा भूउपग्रह पठाएको र जमिनमुनि तार बिच्छ्याएको पनि बताए। ओलीले भने, ‘म प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म स्याटेलाइटको मार्ग अर्कैले ओगटेको रहेछ। मेरो सरकारले त्यो मार्ग हाम्रो नाममा ल्याएको छ।’

उनले आफ्नो कार्यकालमा स्टिमर चलाउन थालेको र जलमार्गका सम्बन्धमा भारतसँग सहमति गरेको बताए। यस्तै उनले आफू सरकारमा रहेका बेला हिंसात्मक आन्दोलनमा सहभागी समूहलाई मूलधारको राजनीतिमा ल्याएको पनि बताए। ओलीले भने, ‘हामीले विगतमा हिंसा र पृथकतावादी सोचमा रहेका साथीहरूलाई शान्तिपूर्ण राजनीतिमा आउन सहमत गराएका छौँ। अब नेपालमा हिंसात्मक समूह छैन। नेपाल शान्तिपूर्ण वातावरणमा छ।’

ओलीले अबको ९ वर्षभित्रै दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले त्यसमा लाग्न सबैलाई अपिल गरे। उनले भने, ‘ छोटो समयमा समृद्ध राष्ट्र बनाउनुपर्नेछ।दुनियाँमा कहीं नभएका महत्वपूर्ण सम्पत्ति यहीं पाइन्छ। शालिग्राम कालीगण्डकी र सरयू नदीमा पाइन्छ। शालिग्राम पाइने दुवै नदी नेपालमा छन्।’

‘लिम्पियाधुरालगायतका जमिन फिर्ता लिइएन भने हामीलाई ठगिएको अनुभव हुनेछ।’
ओलीले आफ्नो दल सार्वभौमसत्ताको समानता चाहने जानकारी दिए। उनले भने, ‘पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढ्छ। हाम्रा शत्रु कोही छैनन्। कतिपय कुरा छलफलका माध्यमबाट कतिपय समस्या टुंग्याउनुपर्नेछ।’ यस्तै संवादका माध्यमबाट लिम्पियाधुरालगायतका जमिन फिर्ता लिनुपर्नेमा पनि उनले जोड दिए। ओलीले भने, ‘फिर्ता लिइएन भने हामीलाई ठगिएको अनुभव हुनेछ।’

उनले लोकतन्त्रका आधारभूत मूल्यमान्यता सुदृढ बनाएर अघि बढ्न चाहेको पनि बताए। उनले भने, ‘जनताको जीवनमा परिवर्तन ल्याउन, सामाजिक न्याय र समानतका लागि, समृद्ध नेपाल र सुखी नेपालीका लागि लोकतन्त्र चाहिएको छ।’ यस्तै अर्को प्रसंगमा उनले नेपालीका लागि बनाएको संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुन सक्ने बताए।

मुलुकका स्थिरता कायम भई लगानीको वातावरण बनेको उनको भनाइ छ। उनले भने, ‘आन्तरिक र वैदेशिक लगानीका लागि उचित वातावरण बनेको छ। अब विदेशीले पनि नेपालमा लगानी गर्न सक्नुहुन्छ।’

यस्तै उनले देशमा राजनीतिक समस्या मूल रूपमा टुंगिएको पनि बताए। उनले भने, ‘गणतन्त्र संस्थागत गरेका छौं। अब समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने हो।’ ओलीले अब एमाले चुनावको तयारीतर्फ लाग्ने बताए। उनले भने, ‘अब जनमत निर्माणको तयारीमा जानेछौं। एमालेका बहुमत होइन, यस देशमा लोकतन्त्रको रक्षाका लागि एकल बहुमत ल्याउनपर्नेछ। यो एमालेका लागि होइन, देश बनाउनका लागि चाहिएको हो। विकासको लहर चलाउनका लागि।’

ओलीले आगामी हिउँदभर एमाले प्रवेशको लहर चल्ने दाबी गरे। उनले भने, ‘देशका सबै कार्यकर्तालाई एमालेको झन्डामुनि गोलबद्ध हुन आग्रह गर्छु।’ ओलीले एमाले चिन्न र सूर्य चिह्न बोक्न अप्ठेरो नरहेको बताए। उनले सूर्य चिह्नका कारण पार्टीमा कुनै पनि समस्या नहुने बताए। यस क्रममा ओलीले सूर्यलाई गायन्त्री मन्त्रसँग तुलना गरेका थिए।

उनले गायन्त्री मन्त्र उच्चारण गर्दै भने, ‘बिहानै उठेर जपिने गायत्री मन्त्र! हे सूर्य देवता! संसारलाई उज्यालो बनाएका छौ। तिमीले दुनियाँलाई मौसम ऋतु दिएका छौ। सृष्टि गर्छौ, हे सूर्य! तिमीले हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ। त्यही सूर्य एमालेको चिह्न हो। नेपालबाट गिरिबी हटाउन एमालेको झन्डा भएका छौँ हे सूर्य!’

‘अब भ्रममा नपर्नुहोस्। सबै पूर्वलडाकु साथीहरू एमालेमा आउनुहोस्। एमाले हिजोका द्वन्द्वका घाउ निको पार्न चाहन्छ। शान्ति प्रक्रिया टुंगाउनुपर्छ।’
ओलीले अब एमाले चुनावको तयारीतर्फ लाग्ने बताए। उनले भने, ‘अब जनमत निर्माणको तयारीमा जानेछौं। एमालेका बहुमत होइन, यस देशमा लोकतन्त्रको रक्षाका लागि एकल बहुमत ल्याउनपर्नेछ। यो एमालेका लागि होइन, देश बनाउनका लागि चाहिएको हो। विकासको लहर चलाउनका लागि।’

अध्यक्ष ओलीले अब अब तत्कालीन माओवादीका लडाकुलाई पनि एमाले प्रवेश गर्न तयार रहन आग्रह गरे। उनले भने, ‘तपाईंहरूले हिजो केका लागि बलिदान दिनुभएको रहेछ हेर्नुहोस्। मेयर, मन्त्री कसलाई बनाइयो? तपाईंहरू सत्ताको राजमार्ग बनिदिनुभयो।’ हिजोको गल्तीले लडाकुलाई अलमलमा पारिएको ओलीको दाबी थियो।

उनले भने, ‘अब भ्रममा नपर्नुहोस्। सबै पूर्वलडाकु साथीहरू एमालेमा आउनुहोस्। एमाले हिजोका द्वन्द्वका घाउ निको पार्न चाहन्छ। शान्ति प्रक्रिया टुंगाउनुपर्छ।’ अहिले सरकारले शान्तिप्रक्रिया टुंगोमा पुर्याउन नसक्ने उनको भनाइ छ। उनले भने, ‘सरकारले काम गर्न सक्दैन। किनभने त्यहाँ काम गर्न नदिने तत्त्व छन्। प्रधानमन्त्रीले चाहेर पनि त्यो काम हुँदैन।’

उनले एमालेले नै हुलाकी राजमार्ग बनाएको दाबी गरे। उनले सुनकोसी मरिन डाइभर्सन पनि एमालेको सरकारले नै सुरु गरेको बताए। अन्तमा महाधिवेशन सफल भइसकेको छ। तपाईंहरूको सहभागिताका लागि धन्यवाद। यसका लागि कष्टलाई म सलाम भन्न चाहन्छु। एमाले परिपूर्ण समाज हो।
एमालेले संस्कृति, खेल, सामाजिक अभियान, मानव अधिकार, उद्यमी, किसानका विषयमा विशेष ध्यान दिइरहेको बताए। उनले भने, ‘युवाले विदेशमा रोजीरोटीका लागि जानु नपरोस्। शिक्षा लिनका लागि जानुपर्ला तर श्रम गर्नका लागि विदेश जानु नपरोस्। त्यसमा एमालेको ध्यान गएको छ। यसकै लागि युवा उद्यम र प्रधानमन्त्री रोजगारका कार्यक्रम ल्याएका छौं।’

उनले जहाँ एमाले पुगेको छ, त्यहाँ परिवर्तन गराएरै छाडेको पनि दाबी गरे। ओलीले समझदारी, सहमति र एकताका साथ महाधिवेशन सम्पन्न बताए। ओलीले भने, ‘महाधिवेशन उद्घाटन समारोह सर्वाधिक जनसहभागितताका साथ सम्पन्न भएको छ। बन्दसत्र एकताबद्ध ढंगले हुनेछ।’ उनले अब पाँच वर्षका लागि एमालेलाई मात्र होइन, देशलाई नै निर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरिने पनि बताए।

उनले वर्तमान सरकारबारे भने कुनै टिप्पणी गरेनन्। उनले भने, ‘सरकारबारे म केही भन्न चाहन्नँ। हामीले अतिथि बोलाएर अपशब्द प्रयोग गर्नुहुँदैन।’ प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न चाहे पनि अप्ठ्यारो रहेको उनको भनाइ थियो। उनले भने, ‘मलाई अप्ठ्यारो पार्नेहरू आज देउवाका खुट्टा समातिरहेका छन्।’

तर जतिसुकै अग्लो देखिने कोशिस गरेपनि सर्वसम्मत पुन: पार्टीकाे अध्यक्ष बन्ने योजना बनाएका ओलीलाई उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि धक्का लागेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्