ओलीको पेल्ने रणनीति बुझेपछि भीम रावल रावल जंगिए, अनि ओलीले भने- म नउठ्न पनि सक्छु ! – Janadesh Daily | ePaper

ओलीको पेल्ने रणनीति बुझेपछि भीम रावल रावल जंगिए, अनि ओलीले भने- म नउठ्न पनि सक्छु !


जनादेश वाच ।
चितवनमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज (आइतबार) केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्नेछन्।

विरोधका बीच टुंगिएको पहिलो दिन शनिबारको बन्दसत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएको हो। यसअनुसार उनले आज आइतबार पुनः हुने बन्दसत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने भएका हुन्।

शनिबार राति अबेरसम्म जारी बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन्।

बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ ।

शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो । बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो । जसमा ९९ जना सदस्य रहनेछन् । गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो ।

तर असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जाने अधिकार दिइने बन्दसत्रमा सहभागी एक नेताले बताएका छन्। साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन्।

बन्दसत्रको व्यवहारले रावल आक्रोशित

भीम रावलले निर्वाचनबाट हुनुपर्ने नेतृत्व चयनलाई सर्वसम्मतिका नाममा एउटा व्यक्तिको स्वविवेकीय अधिकार बनाउने हो भने यसले वर्षौं लगाएर निर्माण गरेको पार्टीको प्रणालीलाई नै ध्वस्त पार्ने टिप्पणी गरे। ‘एमालेको जुन खालको चरित्र थियो, त्यो चरित्रलाई नै यसले कमजोर बनाउने काम गरेको छ,’ उनले भने, ‘आज पार्टीभित्र सर्वसम्मति गर्ने हो भने भोलि चुनाव लड्नुपर्ने बेला पनि के पार्टीले सहमति खोज्दै हिँड्ने हो?’

बाहिर निस्किएर रावलले बन्दसत्र बैठकमा भएको घटना अलि बिस्तारमा बताएका थिए ।


‘सर्वसम्मति सूची बनाउने प्रस्ताव आएपछि मैले र घनश्याम भूसालले बाहेक अरू कसैले त्यसको विरोध गरेनन्,’ उनले भने, ‘मैले बोल्न खोज्दा सुरूमा हुटिङ गरेर झन्डै बोल्न दिएनन्। मेरो आवाज दबाउन खोजियो। त्यसपछि मैले ‘अनुशासित ढंगले पार्टी चलाउने भनेको यही हो’ भनेर भनेपछि बल्ल मलाई बोल्न दिइएको थियो।’

रावलका अनुसार बन्दसत्रकै बीच ओलीले भनेका थिए, ‘म आफैं उठ्ने कि नउठ्ने थाहा छैन। नउठ्न पनि सक्छु। म अध्यक्षमा उठिनँ भने तपाईं उठ्ने कि नउठ्ने?’ जवाफमा रावलले भने, ‘तपाईं नउठे अरू उठ्छन्। कोही पनि उठेनन् भने निर्विरोध हुन्छु।’ बन्दसत्रले पार्टीका ३०१ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।

नेताहरूको आकांक्षाअनुरूप भागबन्डा मिलाउन नसकेपछि बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई ओलीको हातमा सुम्पेको हो। यसले एमालेमा नेता चयनलाई ओलीको स्वविवेकीय अधिकारमा परिणत गराएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्