संसार तर्साउने कोरोनाको खतरनाक नयाँ भेरिएन्टः ‘ओमिक्रोन’ रोक्न नेपालको तयारी के ! – Janadesh Daily | ePaper

संसार तर्साउने कोरोनाको खतरनाक नयाँ भेरिएन्टः ‘ओमिक्रोन’ रोक्न नेपालको तयारी के !


जनादेश वाच ।

दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको छ। यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।

‘ओमिक्रोन’ देखिएपछि विश्वका विभिन्न मुलुकले धमाधम दक्षिण अफ्रिकासहित अफ्रिकी मुलुकसँग आवतजावतमा प्रतिबन्ध लगाइरहेका छन् भने छेउकै छिमेकी भारतले पनि कडा मापदण्ड लागू गरिसकेको छ। तर नेपालले अझै यसमा सजगता अपनाएको छैन।

स्वास्थ्य विज्ञले नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई अनिवार्य १५ दिन क्वारेन्टिनमा राख्न सुझाव दिए पनि यस विषयमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन।

दक्षिण अफ्रिकामा गत मंगलबार कोरोनाको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पत्ता लागेको हो। जसलाई वैज्ञानिकले ‘ओमिक्रोन’ नाम दिएका छन्। यो नयाँ भेरिएन्ट डेल्टाभन्दा बढी खतरनाक रहेको विज्ञले बताएका छन्। नयाँ भेरिएन्टको संक्रमण दर अत्यन्त तीव्र हुने बताउँदै वैज्ञानिकहरूले यसविरुद्ध अहिले लगाइरहेका खोपले काम नगर्न सक्ने शंकासमेत व्यक्त गरेका छन्।

यसप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको छ। विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाइसकेका छन्। दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो।

नेपालमा के छ तयारी !
आज आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले नयाँ भाइरस रोक्न चाल्ने रणनीतिका सम्बन्धमा निर्णय गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट फैलिएका देशबाट आउने नागरिकका सन्दर्भमा पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने बताए।

‘दक्षिण अफ्रीकाबाट ‘डाइरेक्ट’ फ्लाइट छैन। ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउँछौं। प्रभावित देशबाट आएका जो-कोही क्वारेन्टीनमा बस्नुपर्छ,’ उनले भने। उनले नेपालमा कोरोना जोखिम नटरेको भन्दै संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्क तयारी अवस्थामा राखेको जनाएको छ। यसैबीच आइतबार सीसीएमसीसीको बैठक बस्दै छ। बैठकले थप निर्णय लिनसक्ने बताइएको छ। सीसीएमसीसीको बैठक प्रत्येक आइतबार बस्दै आएको छ।

गत वैशाख ६ मा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आदेश जारी गरेको थियो। प्रवेश बिन्दुका हेल्थ डेस्कमा एन्टिजेन वा पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आएका सङ्क्रमित व्यक्तिलाई अस्पताल वा आइसोलेसन केन्द्र वा होल्डिङ सेन्टरमा सुरक्षितरूपमा पठाउन स्थानीय तहसँग सहकार्य गर्ने र संक्रमणको शंका नभएका अन्य व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तीमा दश दिन क्वारेन्टीनमा अनिवार्य राख्न लगाउने आदेशमा उल्लेख छ।

प्रवक्ता डा. पौडेलले ओमिक्रोन देखा परेपछि सरकारले उक्त आदेश लागू गर्नसक्ने बताए। ‘संक्रमणको जोखिम अझै टरेको छैन। नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले यसअघिको आदेश कार्यान्वयनमा ल्याउँछ,’ उनले भने।

आदेशमा होल्डिङ सेन्टर, संस्थागत आइसोलेसन र संस्थागत क्वारेन्टीनको व्यवस्थापन गर्ने र आधारभूत अस्पताल, जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा गरिने संक्रमितको उपचार व्यवस्थापनको समन्वय र अनुगमन गर्ने भनिएको छ।

आदेशमा भनिएको छ, ‘उपचार सम्बन्धमा अस्पताल व्यवस्थापन (प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत), रेफरल, एम्बुलेन्स र एयर लिफ्ट समेतको व्यवस्था मिलाउने।’ ओमिक्रोन’ भेरियन्टको म्युटेसन डेल्टा भन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीब्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लूएचओले गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा सो भेरियन्टको कोरोना पुष्टि भएको बताएको थियो।

यो भेरियन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको छ। विज्ञहरुले यो भाइरस एक अर्कामा छिटो फैलिने क्षमता राख्ने बताएका छन्। कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्ररूपमा फैलिरहेको पत्ता लागेको हो। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

शुक्रबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले हवाइ यात्रामाथि प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदमलाई ‘गलत’ भन्दै निन्दा गरेका छन्। साझा समस्यासँग जुध्न विश्व नेताहरूले बलीको बोको खोजिरहेको उनको आरोप थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्