शिक्षा मन्त्रालयले सीटीईभीटीसँग स्पष्टीकरण सोध्यो, कारण यस्तो छ ? – Janadesh Daily | ePaper

शिक्षा मन्त्रालयले सीटीईभीटीसँग स्पष्टीकरण सोध्यो, कारण यस्तो छ ?


जनादेश, काठमाण्डौ । नर्सिङमा चिकित्सा शिक्षा ऐनविपरीत भर्ना खुलाएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग शिक्षा मन्त्रालयले स्पष्टीकरण सोधेको छ भने चिकित्सा शिक्षा आयोगले ऐन उल्लंघन नगर्न निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा ऐनको मापदण्डअनुसार प्रमाणपत्र तह (पीसीएल) नर्सिङ पढाउन पाउने २४ वटा मात्रै शिक्षण संस्था छन् । परिषद्ले गत बुधबार ४५ वटा शिक्षण संस्थामा भर्ना आह्वान गरेको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलको निर्देशनमा शुक्रबार परिषद्सँग स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । पौडेलले ऐनको प्रावधानभित्र रहेका शिक्षण संस्थामा मात्र भर्ना खुलाउन निर्देशन दिएका थिए । परिषद्को कात्तिक १७ को बैठकले पनि मापदण्ड पुगेका शिक्षण संस्थामा मात्रै भर्ना लिने निर्णय गरेको थियो ।

परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र सदस्यसचिव जीवनारायण काफ्लेले निजी मेडिकल कलेजको स्वार्थमा मनोमानी भर्ना खुलाएको कर्मचारीहरूले बताएका छन् । मन्त्रालयका उपसचिव कुलप्रसाद खनालले परिषद्को निर्णय र शिक्षामन्त्रीको निर्देशनविपरीत भर्ना खोलिएकाले जानकारी मागेको जनाए । ‘निर्णय र निर्देशनभन्दा किन फरक भयो भनेर खुलाइ पठाउन पत्राचार भएको छ,’ उनले भने, ‘विस्तृतमा पत्रको जवाफ आएपछि थाहा होला ।’

त्यस्तै चिकित्सा शिक्षा आयोगले परिषद्लाई ऐन उल्लंघन नगर्न सचेत गराएको छ । आयोग कार्यकारी समितिको बैठकले ऐनअनुसार मात्रै शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिएको सदस्यसचिव भोजराज काफ्लेले बताए । परिषद्ले स्नातक तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका मेडिकल कलेजलाई पनि पीसीएल नर्सिङ पठनपाठनका लागि भर्नाको अनुमति दिएको छ । ऐनमा स्नातक र प्रमाणपत्र तह कार्यक्रम एउटै शिक्षण संस्थाले सञ्चालन गर्न नपाउने व्यवस्था छ ।

परिषद्ले ऐनविपरीत भर्ना खुलाएपछि आयोगले ती मेडिकल कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय र सम्बन्धित शिक्षण संस्थालाई समेत पत्राचार गरेको छ । त्रिभुवन, काठमाडौं, पूर्वाञ्चललगायत विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक नर्सिङ पठनपाठन गराउँदै आएका मेडिकल कलेजले पीसीएल नर्सिङ भर्नाको अनुमति पाएका छन् । एउटै कलेजले दुईवटा शिक्षण संस्थाबाट सम्बन्धन लिन नसक्ने आयोगका सदस्यहरूले बताए । ‘विश्वविद्यालयलाई तिमीले सम्बन्धन पाएका कलेजले सीटीईभीटीबाट पनि सम्बन्धन लिएका छन्, यस्तो के भएको हो भनेर सोधेका छौं,’ उनले भने, ‘सम्बन्धित शिक्षण संस्थालाई स्नातक नर्सिङ वा पीसीएलमध्ये एक मात्र अध्यापन गराउन पाउने ऐनको व्यवस्था भएकाले कुनचाहिँ पढाउँछौं भनी सोधेका छौं ।’

आयोगको बैठकले भर्ना खोल्न अनुमति दिने परिषद्, विश्वविद्यालयबाट सम्बन्धन पाएर स्नातक तहमा नर्सिङ अध्यापन गराइराखेका तथा पीसीएल नर्सिङको पनि भर्ना अनुमति पाएका मेडिकल कलेज र ती कलेजलाई सम्बन्धन दिने विश्वविद्यालयलाई समेत निर्देशनसहित पत्राचार गरेको हो । उनीहरूको जवाफ आएपछि थप कारबाही प्रक्रिया अघि बढाउने आयोगले जनाएको छ ।

स्नातक तहमा नर्सिङ पठनपाठन गराउने शिक्षण संस्थाले प्रमाणपत्र तहसरहको पीसीएलमा कक्षा सञ्चालन गर्न नपाउने प्रावधान विपरीत परिषद्ले विश्वविद्यालयबाट सम्बन्धन पाएका २१ वटा मेडिकल कलेजलाई नर्सिङ पढाउन अनुमति दिँदै भर्ना आह्वान गरेको छ । चिकित्सा शिक्षा ऐनका कारण अधिकांश नर्सिङ कलेज संकटमा छन् । ऐनले एक सय बेडको आफ्नै अस्पतालले मात्र नर्सिङ पठनपाठन गराउन पाउने व्यवस्था गरेको छ । २०७५ मा जारी ऐनले मापदण्ड नपुगेका शिक्षण संस्थालाई दुई वर्षभित्र अस्पताल निर्माण गर्नसमेत समायावधि तोकेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्