थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी – Janadesh Daily | ePaper

थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी


जनादेश, काठमाण्डौ । सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् ।
थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी
यस हिसाबले थ्रीजीको तुलनामा फोरजी प्रयोगकर्ताको सङ्ख्या साढे दुई लाखभन्दा बढी छ । नेपालमा २०७३ पुस १७ गते फोरजीको सुरुवात भएको थियो ।
सेवा प्रदायकले फोरजी पूर्वाधार विस्तारलाई दिएको प्राथमिकता र थ्रीजीमा थप लगानी गर्न छाड्दा फोरजी प्रयोगकर्ताको हिस्सा बढेको देखिन्छ । फोरजी विस्तारमा मात्र मुख्य दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले मात्र ३० अर्ब रुपियाँभन्दा बढी लगानी गरिसकेका छन् । त्यस्तै अर्को सेवा प्रदायक स्मार्ट टेलिकमले फोरजी प्रविधिमा मात्र लगानी गरेको छ ।

तथ्याङ्कअनुसार थ्रीजी र फोरजी दुवैमा नेपाल टेलिकमका प्रयोगकर्ता धेरै छन् । एक करोड तीन लाखले टेलिकमको थ्रीजी प्रयोग गर्छन् । त्यस्तै ६६ लाख ३४ हजारले फोरजी प्रयोग गर्ने तथ्याङ्कमा उल्लेख छ । एनसेलका ६० लाख फोरजी प्रयोगकर्ता छन् भने २२ लाख ८४ हजारले थ्रीजी प्रयोग गरिरहेका छन् । त्यस्तै स्मार्ट टेलिकमका एक लाख ६७ हजार फोरजी प्रयोगकर्ता छन् ।
थ्रीजीको तुलनामा फोरजी प्रविधिमा उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फोरजीमा अधिकतम चार सय एमबीपीएससम्मको डाउनलोड गति हुन्छ । यद्यपि यस्तो गति देशअनुसार फरक हुने गर्छ । त्यस्तै थ्रीजीमा औसतमा २० एमबीपीएससम्मको अधिकतम डाउनलोड गति हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्