बर्दिबासमा योग र ध्यानको ‘क्रेज’ – Janadesh Daily | ePaper

बर्दिबासमा योग र ध्यानको ‘क्रेज’


महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिबार पहिलो दिन १०० हाराहारी सहभागी भएका हुन् ।

गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक योग र ध्यान साधना थालिएको हो । योग र ध्यानलाई दैनिक तालिकामै निरन्तरता दिन यससम्बन्धी सचेतना बढाउन जरुरी ठानेर योगभवन निर्माण गरिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले “सामूहिक रुपमा गरिने योग र ध्यान सिकाइका लागि उपयुक्त हुँदो रहेछ । यसैले योग ध्यानबारे सर्वत्र चासो बढोस् भन्ने चाहनाका साथ योगभवन निर्माण गरेका हौँ ।”

सामूहिक योग र ध्यानमा आउने ४० वर्षभन्दा माथिका बढी देखिएका योग गुरु स्वामी प्रेम आलोकले जानकारी दिनुभयो । “यहाँ जनप्रतिनिधिहरुको योग र ध्यानबारे एकदमै सकारात्मक चासो छ,” उहाँले भन्नुभयो, “गतवर्ष सांसद गिरिराजमणि पोखरेलको सहयोगमा एउटा पार्टी प्यालेसमा योग प्रशिक्षण थालेका थियौँ, एक वर्षभित्रै अहिले योगभवन नै तयार भयो ।” स्थानीय तहका जनप्रतिनिधि पनि योग र ध्यानको सहभागिता बढाउन चासोका साथ लाग्नुभएको आलोकको ठम्याइ छ । योगभवनमा अहिले आलोकसहित चारजना प्रशिक्षक हुनुहुन्छ ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा योग र ध्यानबारे थप कक्षा सञ्चालन गर्ने सैद्धान्तिक निर्णय नै गरेको छ । यसका लागि प्रशिक्षक व्यवस्थापनदेखि अन्य तयारी गरिने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । करिब ५२ लाखको लागतमा निर्मित योगभवन निर्माणमा ४०० केभी विद्युत् प्रसारण लाइन, पानीखोल्सी रातमाटा सामुदायिक वन उपभोक्ता समिति र बर्दिबास नगरपालिकाले आर्थिक दायित्व निर्वाह गरेका छन् । योगभवनको एकसाथ ३०० जनाले अभ्यास गर्नसक्ने क्षमता रहेको बर्दिबास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले जानकारीदिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्